दार्चुला : महाकाली नगरपालिकाले आधारभूत तह कक्षा ८ को ग्रेडवृद्धि परीक्षा बैशाख २२ र २३ गते गर्ने भएको छ । नगरपालिकाले शुक्रवार एक सूचना जारी गर्दै यसअघि रोकिएको कक्षा ८ को गे्रडवृद्धि परीक्षा बैशाख २२ गते र २३ गते गर्ने जनाएको हो ।
आधारभूत तह स्तरीय परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको बैशाख १८ गतेको निर्णय अनुसार बैशाख ३ मा स्थगित गरिएका आधारभूत तह स्तरीय कक्षा ८ को ग्रेडवृद्धि परीक्षा आगामी सोमवार र मंगलवार हुने महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी ठगुन्नाले जानकारी दिए ।
बैशाख २२ गते गणित विषयमा ग्रेडवृद्धि परीक्षा दिने सबै, एक मात्र विषयमा ग्रेडवृद्धि दिने विद्यार्थीका हकमा सो विषय सबै, दुई विषयमा ग्रेडवृद्धि परीक्षा दिनेका हकमा ग्रेडवृद्धि परीक्षा आवेदन फाराम अघिल्लो नम्बरमा उल्लेखित विषयको हुने र २३ गते दुई विषयमा ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थीका हकमा मात्र गणित बाहेक तथा अघिल्लो दिन परीक्षा दिएको विषय बाहेक ग्रेडवृद्धि परीक्षा आवेदन फाराममा पछिल्लो नम्बरमा उल्लेखित विषय दिनुपर्ने छ ।
परीक्षा दिउँसो १२ बजेदेखि हुनेछन् । ग्रेडवृद्धि परीक्षाका लागि जिल्ला सदरमुकामस्थित महेन्द्र मावि खलंगामा परीक्षा केन्द्र तोकिएको महाकाली नगरपालिकाले जनाएको छ । यसअघि बैशाख ५ र ६ गते हुने ग्रेडवृद्धि परीक्षा शिक्षक महासंघको आन्दोलनका कारण स्थगित भएको थियो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?