दार्चुला : दार्चुला अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जिल्ला अस्पताललाई खोप उपलब्ध गराउन नसक्दा खोप अभाव भएको हो । जंगली जनावर र घरपालुवा जनावरले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिनुभयो ।
सरकारले निःशुल्क उपलब्ध गराउँदै आइरहेको खोप अभाव हुँदा बिरामी खोप नलगाई फर्कन बाध्य छन् । विगत एक हप्तादेखि अस्पतालमा रेविजविरुद्धको खोप अभाव भएको अस्पतालका सूचना अधिकारी भट्टले बताउनुभयो । खोप अभाव भएपछि अस्पतालले सूचना जारी गर्दै सेवाग्राहीमा जानकारी गराएको छ । अस्पतालले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढी, कैलालीबाट प्राप्त नभएको तथा अर्को व्यवस्था नभएसम्मका लागि सेवाग्राहीलाई (एआरभी) खोप उपलब्ध गराउन नसकिने जनाएको छ ।
अस्पतालमा रेविजविरुद्धको खोप अभाव भएको तथा बिरामीले अन्यत्रबाट खरिद गरेर ल्याएमा खोप लगाइदिने जिल्ला अस्पताल दार्चुलाका प्रमुख डाक्टर संजीव श्रेष्ठले बताउनुभयो । जिल्ला अस्पताल दार्चुलाबाट बैशाख महिनाको हालसम्म ३६ जनाले रेबिज रोगविरुद्धको खोप लिइरहेकोमा अहिले खोप अभाव हुँदा समस्यामा परेका छन् ।
जिल्लाका अन्य ठाउँमा समेत खोप नभएपछि भारतीय बजारका मेडिकलबाट खरिद गर्नुपर्ने बाध्यता छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागबाट आपूर्ति कम भएका कारण प्रदेश आपूर्ति केन्द्रमा समेत खोप अभाव रहेको बताइएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?