✍️ विशाल सिंह रैखोला
दार्चुला जिल्ला महाकाली नगरपालिका-७ धाप अरूका लागि केवल धाप हो । एउटा गाउँ हो। तर, मेरा लागि भने यो जन्मभूमि हो । स्वर्ग हो। भनिन्छ नि जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी अर्थात् आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूलो हुन्छन्। म सामान्यतया सपना देख्ने मान्छे हुँ र मैले मेरो गाउँ धापको हितमा सपना देखेको छु। के भविष्यमा धाप यस्तो होला त ? मैले सपनामा देखेको छु धाप अब केवल एउटा सानो गाउँ रहेन्, अब धाप उप सहर भइसकेको छ।
अब धापले शिक्षा क्षेत्रमा पनि बाजी मारिसकेको छ। यहाँस्थित मालिकार्जुन माविमा अब थुप्रै प्राविधिक धारहरूमा पढाइ हुन्छ र देशका विभिन्न जिल्लाबाट तथा छिमेकी भारतसम्मबाट पनि विद्यार्थीहरू पढ्न आउँछन्। तर, अहिले त भर्ना पाउन समेत मुस्किल भइसकेको छ। धापमा विद्यार्थीहरूले पढ्न र शिक्षकहरूले पढाउन आफूलाई भाग्यमानी ठान्दछन्। अब यस विद्यालयमा पढेका विद्यार्थीहरू कोही वैज्ञानिक, कोही प्रधानमन्त्री, कोही मुख्य सचिव, कोही राजदूत त कोही उच्च पदमा पुगेका छन् । र यो विद्यालय देशमा मात्र होइन विदेशमा समेत प्रख्यात बनेको छ।

धापले अब स्वास्थ्य क्षेत्रमा पनि फड्को मारिसकेको छ। त्यो पुरानो धाप स्वास्थ्य चौकी रहेन्, अब यहाँ ठूलो अस्पताल बनिसकेको छ । जसले देशकै ठूला अस्पतालसरह सेवा दिइरहेको छ। अत्याधुनिक एआई जडित उपकरणहरूसहित विस्तृत सेवा दिइरहेको छ। जहाँ सिटामोल पाउन गाह्रो हुने ठाउँमा अब एआई प्रविधिबाट जनता सेवा सुविधा पाइरहेका छन् जुन लोभलाग्दो छ। अब जनताले धनगढी काठमाडौं वा भारत जानु पर्दैन सबैको आवाज एउटै छ धाप धाप धाप। अस्पतालमा एमबिबिएस र एमडी चिकित्सकहरू छन् जसले अत्यन्तै राम्रो सेवा दिइरहेका छन्।
धापमा एउटा ठूलो खानेपानीको परियोजना सञ्चालनमा छ जसले भविष्यमा खानेपानीको आपूर्ति गर्नेछ। सबै धापका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने यस परियोजनाको उद्देश्य छ। यो परियोजना सम्पन्न भइसके लगत्तै अर्को धापमा नहर क्रान्ति पनि हुँदै छ जसले कृषि क्षेत्रमा उल्लेखनीय योगदान दिनेछ। एक घर एक धाराबाट अब माथि उठेर एक घर दुई धारा भइसकेको छ अब त्यो दुर्गम अविकसित धाप रहेन। खानेपानीको हाहाकार भएको ठाउँमा अब फालाफाल छ। नहर क्रान्ति आएपछि अब कृषिबाट धापका जनताले मनग्ये आम्दानी गरिरहेका छन्। धापवासीको आय स्तरमा उल्लेखनीय वृद्धि भएको छ।
सडक पनि अब पहिलाको जस्तो एक लेन रहेन्,अब दुई लेन सडक भइसकेको छ। जहाँ गाडीहरूको घुइँचो छ, चिल्ला सडक छन् जस्तो दायाँ र बायाँ पट्टि सडक बत्ती छन् बीचमा फूलहरू छन्। ठाउँ ठाउँमा जेब्रा क्रसिङ छन् । ५०/५० मिटरको दूरीमा अपशिष्ट पात्रहरू छन्। सडक हेर्दा आधुनिक प्रविधिबाट बनेको छ राति सडकमा आउँदा राति हो कि दिन छुट्याउन गाह्रो नै पर्छ। गाडी, बाइक, बस यस्तै यस्तै सवारी साधनको लागि सवारी पार्किङ स्थल छन्। अब धापमै इन्धन वितरण केन्द्र पनि बनिसकेको छ।
विद्युतको क्षेत्रमा धापले अब फड्को मारिसकेको छ। धापमा ५ मेगावाटको विद्युतगृह बनिसकेको छ जसले विद्युतका सवालमा धापको मुहान परिवर्तन गरेको छ। खुसीको कुरा त के हो भने महाकाली नगरपालिका वडा नम्बर ७ धापमा विद्युत निःशुल्क वितरण हुन्छ । र, विद्युतगृहले धापमा वर्षेनी केही न केही विकासका काममा सघाउँछ। सडकको छेउका पोल लाइट पनि यसै विद्युतगृहले जडान गरेका हुन् जसले धापको सुन्दरतामा झनै आकर्षण थपेको छ। यस विद्युतगृहले नेपाल सरकारलाई विद्युत बेचेर मनग्ये आम्दानी गर्छ र त्यो आम्दानीको केही हिस्सा धापको शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, कृषि जस्ता थुप्रै क्षेत्रमा लगाउँछ।
यी बाहेक पनि धापमा विकास भएको छ। २०७० सालको बाढीले धापको केही ठाउँमा नोक्सान गरेको थियो अब भने धापमा पक्की तटबन्ध बनिसकेको छ जसले अब हुन सक्ने जोखिम र दुर्घटनाबाट धाप जोगिन्छ। घर घर जाने सिमेन्टको बाटो छ। पर्यटन प्रवर्द्धनका लागि धाप दृश्य स्थलको निर्माण गरिएको छ जहाँ लगभग २५०० सम्म सिँढी छन् जसले बाह्य र आन्तरिक पर्यटनमा टेवा पु¥याएको छ। धाप अब पुरानो धाप रहेन्, न त धापका मान्छे पुराना रहे आधुनिक युगसँगै मान्छे पनि आधुनिक भइसके।
नेपालका अरू ठाउँ परिवर्तन भयो कि भएन थाहा भएन तर धाप परिवर्तन भएको छ। एकै गाउँमा दुई दुई सडक छन् एउटा महाकाली राजमार्ग अर्को सहरी विकास मन्त्रालयको सहयोगमा उप सडक जसले धापको सुन्दरता मात्र होइन धापवासीको आर्थिक स्तर पनि उकासेको छ। एक शब्दमा भन्ने हो भने धाप अब एकदम विकसित छ। रोजगारीको सवालमा पनि वडामै एक वडा एक साना उद्योग कार्यक्रम अन्तर्गत धेरै युवा युवतीहरू रोजगारमा छन्। अरू कोही विकास निर्माणका काममा छन्।
अब धापले जनप्रतिनिधि पनि विकासप्रेमी र देशप्रेमी पाएका छन् जसले गर्दा नै यो सबै सम्भव भएको छ। सयौँको सङ्ख्यामा रोजगारी छन्। यिनै जनप्रतिनिधि र धापका जनताको अगुवाइमा धापले विकासको मुहार परिवर्तन गरेको हो। मेरो धाप समृद्ध र विकसित धाप।
धापको विकास र समृद्धि मेरो मात्र सपना होइन यो यहाँका हरेक जनताको चाहना हो। जहाँ शिक्षा स्वास्थ्य, सडक र कृषि सबै क्षेत्रले समृद्धि पाउने छन्। हामी सबै मिलेर यो सपना पूरा गर्न अगाडि बढ्नुपर्नेछ। मेरो धाप भविष्यमा मात्र एउटा गाउँ होइन सुन्दर उप सहर बन्ने छ जहाँ हरेक मानिस खुसी र समृद्ध जीवन बिताउने छन्। यही मेरो धापप्रतिको विश्वास र आशा हो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?