दार्चुला : दार्चुलाको नौगाड गाउँपालिकाले विपद् जोखिममा सावधानी अपनाउन गाउँपालिकाबासीमा अपिल गरेको छ । गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै मनसूनजन्य विपद्को दृष्टिकोणले नौगाड गाउँपालिका जोखिममा रहेकाले सावधानी अपनाउन अपिल गरेको हो । मनसूनी वर्षाको समय खासगरी असार, साउन र भदौ महिनासम्म जोखिमयुक्त ठाउँमा बास नबस्न, वनपाखा, घाँसपात र अन्य काममा जाँदा सावधानी अपनाउन तथा सुरक्षित स्थानमा बसाई सार्न अनुरोध गरिएको छ ।
नौगाड गाउँपालिका अध्यक्ष दलजीत सिंह धामीले विपद् उद्धार तथा पूर्व तयारीस्वरुप प्रत्येक वडामा २५ जनाका दरले स्वयंसेवकहरु तयारी अवस्थामा राखिएको बताएका छन् । नौगाडको होपरीगाड, सिप्टी र दल्लेखमा प्रहरी चौकी र धुलिगडामा अस्थायी प्रहरी पोष्ट रहेको छ।
यसैगरी मनसूनजन्य विपद्को सम्भावित क्षेत्रमा नजान, आफ्नो छरछिमेकमा सम्भावित विपदको पूर्वजानकारी गराउन, विपद् आइहालेमा उद्धार, राहत र पुनः स्थापनामा सहयोग गर्न सबैमा गाउँपालिकाले अनुरोध गरेको छ । नौगाड गाउँपालिकामा मनसूनजन्य विपदमा परेर वर्षैपिच्छे जनधनको क्षति हुने गरेको छ ।

यस्तै गाउँपालिकाले पालिका तथा वडाका जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत, विपद् एकाई प्रमुख, सुरक्षा पोष्टका प्रमुख र वडासचिवहरुको सम्पर्क नाम र नम्बर सार्वजनिक गरेको छ । विपद्को समयमा उद्धारको लागि माथि उल्लेखितहरुलाई सम्पर्क गर्न भनिएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?