दार्चुला : दार्चुलालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । खोप उमेर समूहका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि दार्चुलालाई बुधवार एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । जिल्लाका ९ वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख बिरेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
१६ महिनादेखि ५९ महिनासम्मका पूर्ण खोप नलगाएका ६ जना बालबालिकासहित जिल्लाका ६ हजार ६८३ बालबालिकालाई खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको उनले बताए । जिल्ला खोप समन्वय समिति संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख महादेव बडूले एक कार्यक्रमका बीच जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरेका हुन् ।

हाल जिल्लामा १५ महिनामुनिका २ हजार १५० र १६ महिनादेखि ५९ महिनासम्मका ६ हजार ६८३ बालबालिका रहेका छन् । राष्ट्रिय खोप तालिका अनुसार सबै बालबालिकाले खोप लगाए/नलगाएको भनेर १६ देखि ५९ महिनासम्मका बालबालिकाको खोप अवस्थाको पहिचान र विश्लेषण गर्ने गरिन्छ । छुटेको भेटिएका बालबालिकालाई खोपको सबै मात्रा लगाएर पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने गरिन्छ ।
यो वर्ष जिल्लामा महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकामा समान ३/३ जना बालबालिकाले खोप लगाउन छुटेको पाइएको थियो । सर्वेक्षणका क्रममा उनीहरुलाई पनि पूर्ण खोपमा समावेश गरिएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए ।
कार्यक्रममा प्रदेशस्तरीय खोप समन्वय समितिका सदस्य मीन राज जोशीले जिल्ला पूर्णखोप सुनिश्चितता भएको प्रमाणपत्र जिल्लालाई हस्तान्तरण गरेका छन् । यस्तै दार्चुला जिल्लाका ९ वटै स्थानीय तहका स्वास्थ्य शाखा (स्वास्थ्यकर्मी)लाई जिल्ला खोप समन्वय समितिले सम्मानसमेत गरेको छ ।
दार्चुलालाई २०७३ सालमा पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । पूर्ण खोप घोषणा पछि प्रत्येक वर्ष खोप लगाउन छुटेका बालबालिकालाई खोजेर खोप प्रदान गरी पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिदै आएको छ ।



यो खबर तपाईंलाई कस्तो लाग्यो?