जीवितलाई ‘मृत्यु’ भइसकेको भन्दै खाता नवीकरणका लागि नगरपालिकाबाट बैंकलाई पत्र

जीवितलाई ‘मृत्यु’ भइसकेको भन्दै खाता नवीकरणका लागि नगरपालिकाबाट बैंकलाई पत्र

दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिकामा कृषक समूहका सचिव र कोषाध्यक्षको मृत्यु भइसकेको भन्दै बैंकलाई पत्र लेखिएको छ । शैल्यशिखर नगरपालिका–६ स्थित श्री मालिकार्जुन अगुवा कृषक समूहका अध्यक्ष जनक सिंह धामीले सोही समूहका सचिव मन्जु धामी र कोषाध्यक्ष जानकी धामीको मृत्यु भइसकेको भन्दै नगरपालिकाको कृषि शाखालाई पत्र पठाएका हुन् । कृषि शाखा प्रमुख, कृषि प्राविधिक दीपक राज विष्टको हस्ताक्षरसहित ग्लोबल आइएमई बैंक शाखा गोकुलेश्वरलाई नविकरणका लागि पत्राचार गरेको भेटिएको छ ।

जुन, पत्र अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । वडाको सिफारिश बिनै समूहका अध्यक्षले सिधै बैंकलाई खाता नवीकरणका लागि पत्राचार गरेको पाइएको हो । नगरपालिकाका कृषि प्राविधिक विष्टले नगर प्रमुख विजय सिंह धामीका छोरासमेत रहेका कृषक समूहका अध्यक्ष जनकले पठाएको पत्रका आधारमा बैँकलाई पत्राचार गरेको देखिएको छ । तर, कृषक समूहका सचिव र कोषाध्यक्षको मृत्यु भने भएको छैन् ।

वडा नम्बर ६ का अध्यक्ष जगदीश सिंह धामीले मालिकार्जुन कृषक समूहका अध्यक्ष जनक सिंह धामीले लेखे जस्तो कोषाध्यक्ष र सचिवको मृत्यु नभएको बताए । वडाध्यक्ष धामीले मृत्यु भइसकेको अवस्थामासमेत वडा कार्यालयले मृत्यु प्रमाणपत्र दिँदै आएकोमा गलत मनसाय राखेर कीर्ते काम भएकाले कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले बुधवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मृत्यु, जन्म बिहे यी तीन जन्मदै भगवानले लेखेर पठाउँछन्, तपाई धेरै जान्ने भएर जीउदै मान्छेको मृत्यु प्रमाणित नगरिदिनुहोस्, त्यो जिम्मेवारी वडाको हो । भैपरी आयो भने हामी गरि हाल्छौ भनेर व्यङ्ग गरेका छन् ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ६ लाई ओखर पकेट क्षेत्र घोषणा गरिएकोमा चालू आर्थिक वर्षमा कृषि कार्यक्रमअन्तर्गत ओखर पकेट क्षेत्रका लागि १२ लाख बजेट आएको थियो । मालिकार्जुन कृषक समूहसहितका ४ वटा कृषक समूहमार्फत ओखरको बिरुवा रोप्न २ लाख ४० हजार रुपैयाँका दरले अनुदान दिने व्यवस्था गरिएकोमा अन्य तीन समूहले काम सम्पन्न गरेर यसअघि नै नगरपालिकाबाट भुक्तानी लगिसकेका थिए भने मालिकार्जुन कृषक समूहले अहिलेसम्म काम नगरेको पाइएको छ । तर, भुक्तानी लिने उद्देश्यले समूहका अध्यक्षले कोषाध्यक्ष र सचिवको मृत्यु घोषणा गरेर पत्र नै पठाएपछि थप विवाद चुलिएको छ ।

यस विषयमा मालिकार्जुन कृषक समूहका अध्यक्ष जनक सिंह धामीले ओखर पकेट क्षेत्र कार्यक्रममा सचिव र कोषाध्यक्षले आफूले बिरुवा नपाएको भन्दै विवाद गरेको दाबी गर्दै दुबै जनाले विवाद गर्दै बैठक बोलाउँदा समेत नआउने अवस्था बनेपछि आवेशमा आएर आफूले नगरपालिकालाई मृत्यु भइसकेको व्योहोराको पत्र लेखेको स्वीकारे ।

नगरपालिकाले बैँकलाई लेखेको पत्रसमेत आफैंले तयार गरेको दाबी गर्दै उनले उक्त कार्यमा अरु कसैको पनि गल्ती नभएको जनाए । जनक सिंह धामी शैल्यशिखर नगरपालिकाका कर्मचारीसमेत हुन् ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *