दार्चुला : अपीनाम्पा संरक्षण क्षेत्र दार्चुलाले १५ औं स्थापना दिवस मनाएको छ । ‘पर्यटन विकास र जैविक विविधता संरक्षणका लागि जनसहभागिता’ भन्ने नाराका साथ विविध कार्यक्रम गरी स्थापना दिवस मनाइएको अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख बिनय कुमार झाले जानकारी दिए । वि.सं. २०६६ साल असार २८ गते साविकका २१ गाविस समेटेर अपीनाम्पा संरक्षण क्षेत्र स्थापना गरिएको थियो । संरक्षण क्षेत्रले स्थापनाका १५ वर्ष पार गरेको छ ।
स्थापना दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम, वृक्षारोपण, वातावरण सरसफाई, विद्यार्थी सहभागिता, वनजन्य स्रोत संरक्षण तथा जैविक विविधता प्रवद्र्धनमूलक कार्यक्रमहरू सञ्चालन गरिएको कार्यालय प्रमुख झाले बताए । अपीनाम्पा संरक्षण क्षेत्र कार्यालयको स्थापना दिवसको दिन अपीनाम्पा संरक्षण क्षेत्रमा कार्यरत ५ जना संरक्षणकर्मीहरुलाई प्रशंसा पत्रसहित सम्मान गरिएको छ ।
यस्तै स्थापना दिवस दिवसमा ७ वर्षदेखि कार्यरत नायब सुब्बा तोयराज जोशीको गते बैशाख २० गते असामयिक निधन भएकोले उनको सम्झनामा एक मिनेट मौनधारण गर्दै दिगम्बत जोशी आश्रित परिवारलाई दोसल्ला ओढाई सम्मान गरिएको कार्यालय प्रमुख झाले बताए ।
शुक्रवार आयोजित सरोकारवालाहरुसँगको अन्तरक्र्रिया तथा छलफल कार्यक्रममा संरक्षण क्षेत्र कार्यालयले आर्थिक वर्ष २०८१–०८२ मा संरक्षण व्यवस्थापन परिषद् एवं कार्यक्रमहरूको प्रगति प्रतिवेदन प्रस्तुत गरेको थियो । जसमा, संरक्षण क्षेत्रको व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्न २७ वटा उपभोक्ता समूह, २ वटा उपभोक्ता समिति, १ महिला समूह, युवा समूह, जनप्रतिनिधि, विद्यालय, विद्यार्थी, धार्मिक संस्था आदिको सहभागिता रहँदै आएको छ ।
यस आर्थिक वर्षमा संरक्षण अभियानको रूपमा परिषद् पुनर्गठनको कार्यलाई तीव्रता दिइएको छ । वर्षौदेखि परिषद्विहीन अवस्थाको पुनःगठनका लागि कार्य थालिएको छ । जसअनुरुप ६ वटा पालिकामा ३८७ वटा टोल स्तरीय संरक्षण क्षेत्र उपभोक्ता समूह, १२ वटा वडा स्तरीय संरक्षण क्षेत्र उपभोक्ता समिति र एक वटा पालिका स्तरीय संरक्षण क्षेत्र उपभोक्ता समिति गठन भइसकेको छ । बाँकी रहेका कार्य सरोकारवाला र आम नागरिकको सहयोगमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।
स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख महादेव बडूको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा कुमारी खत्री विष्ट, प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति देव राज जोशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहाल लगायत सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधि सँगै संरक्षणकर्मी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
१ हजार ९ सय ३ वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो संरक्षण क्षेत्र उच्च हिमाली जैविक विविधता र दुर्लभ वन्यजन्तु संरक्षणका लागि स्थापना गरिएको हो । यहाँ सुदूरपश्चिमकै अग्लो अपि हिमाल (७,१३२ मिटर), नाम्पा हिमाल (६,७५७ मिटर), व्याँस हिमाल (६,५१० मिटर) जस्ता उच्च हिमशृंखलाहरू रहेका छन् ।
जैविक विविधता संरक्षण, वन्यजन्तु स्रोतको दिगो उपयोग, पर्यटन प्रबद्र्धन, वातावरणीय शिक्षा तथा अनुसन्धानमा यस संरक्षण क्षेत्रले योगदान पु¥याउदै आएको छ । यस क्षेत्रमा ५ वटा उप–भौगोलिक क्षेत्र छन् । सिपसिप, स्यालेगाडा, सेलीनदी, झरनामैला र लत्तिन प्रमुख वन क्षेत्रहरूमा फोेपलसेर, फोलेकसे, झरनामैला, छागरीखेत, खगड्या, लत्तिन, टिनबनिया, टालु बिच्चा, बगडी, स्याउली, मौर, बगडिया, स्याल, डुम्या, गोथी, थार, लत्तिनगाडा आदि पर्छन् ।
यस क्षेत्रमा हिउँ चितुवा, ध्वासे चितुवा, कस्तुरी मृत, रतुवा, घोरल, नाउर, झारल, चितुवा, बाँदर, हिमाली कालो भालु, स्याल, दुम्सी, व्बासो, लंगुर, थार लगायतका वन्यजन्तु पाइन्छन् । यस्तै डाँफे, चिर, चिल, भ्याकुर लगायतका २०० भन्दा बढी चराका प्रजातिहरु र यार्सागुम्बा, जटामसी, वन लसुन, कटुकी, झ्याउ लगायतका महत्वपूर्ण बहुमुल्य जडिबुटी पाइन्छन् ।
यस्तै साल, खयर, सिसौ, उत्तिस, धुपी सल्लो, लौठसल्लो, बाँझ, गुराँस, गोब्रेसल्ला लगायत रमणीय पाटन क्षेत्रहरु छन् । भारत तथा चीनसँग सीमाना जोडिएको हुँदा वन्यजन्तु तथा जडिबुटीको चोरी निकासी र तस्करी हुनेजस्ता चुनौतीहरू छन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?