दार्चुला : नेपाली काँग्रेस दार्चुलाको भाद्र ६ र ७ गते बसेको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति दार्चुलाका सभापति ललित सिंह बोहराको अध्यक्षतामा सुरु भएको बैठकमा नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यता एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस महासमिति सदस्य विक्रम सिंह धामीको विशिष्ट आतिथ्यता रहेको थियो ।
काँग्रेसले पहिलो निर्णयमै लिपुलेक नाकाबाट भारत र चीनले व्यापार गर्ने सहमति गरेको प्रति बिरोध र असहमति जनाएको छ । काँग्रेसले भनेको छ– ‘सुगौली सन्धी लगायतका उपलब्ध दस्तावेज र प्रमाणहरुको आधारमा नेपालको सार्वभौमसत्ता सम्पन्न व्यवस्थापिका संसदले सर्वसम्मत पारित गरि जारी भएको नेपालको नक्शा भित्र पर्ने भूगोल कालापानी, लिपुलेक, लिम्पीयाधुरा क्षेत्रस्थित लिपुलेक भन्ज्याङको बाटो भएर छिमेकी मित्र राष्ट्र चीन र भारत बीच नेपालको सहमति र संलग्नता बेगर व्यापार मार्ग संचालनमा ल्याउने सन्दर्भमा भएको द्विपक्षीय समझदारी एवम् नविकरण कार्यप्रति नेपाली काँग्रेस दार्चुलाको गम्भीर ध्यानाकर्षण भएको छ ।
सो नेपालको अखण्ड क्षेत्रमा दुबै छिमेकी मित्र राष्ट्रहरुले नेपालको सार्वभौमसत्ता प्रति उपेक्षा गर्दै गरेको समझदारी माथि नेपाली काँग्रेस दार्चुला कडा शब्दमा विरोध र विमती जाहेर गर्दछ । यो समस्याका लागि दुवै छिमेकी मित्र राष्ट्रहरु सित यथासिघ्र प्रभावकारी कुटनीतिक पहलका निमित्त नेपाली काँग्रेस दार्चुला नेपाल सरकार समक्ष अनुरोध गर्दछ । ’
भदौ ६ र ७ गतेका बैठकको निर्णय सोमवार सावर्जनिक गर्दै नेपाली काँग्रेस दार्चुलाले पार्टीका सम्मेलन र भातृ संघ संस्थाका अधिवेशन मंसिरसम्म टुङग्याउने जनाएको छ । काँग्रेसले वडा सम्मेलन २०८२ असोज १५ गतेभित्र गर्ने, पालिका सम्मेलन असोज मसान्तभित्र गर्ने, प्रदेशसभा क्षेत्र सम्मेलन कात्तिक मसान्त भित्र गर्ने र जिल्ला सम्मेलन मंसिर मसान्तभित्र गर्ने निर्णय गरिएको जिल्ला कार्य समिति सचिव पुलेन्द्र कार्कीले जानकारी दिए ।
नेपाली काँग्रेस केन्द्रीय कार्य समितिले क्रियाशील सदस्यता नविकरणको अन्तिम म्याद यहि भाद्र मसान्तसम्म तोकेको हुदा जिल्ला कार्यसमिति मातहतका सबै तहहरुलाई यहि भाद्र २५ गतेभित्र सदस्यता नविकरण फारमहरु जिल्ला कार्य समितिमा बुझाई सक्न निर्देशन गरिएको छ ।
यस्तै भातृ संघ नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल दलित संघ लगायतको स्थानीय अधिवेशनहरु यहि भाद्र महिनादेखि सुरु गरी कात्तिक मसान्तभित्र जिल्ला अधिवेशनहरु गर्ने निर्णय गरिएको छ ।
नेपाली काँग्रेसले जिल्लाको विकास निर्माण सम्बन्धी केहि महत्वपूर्ण निर्णय गरेको सचिव कार्कीले बताए । उनका अनुसार काँग्रेसले सामरिक र धार्मिक महत्व बोकेको त्रीदेशीय नाका जोड्ने महाकाली कोरिडोर अन्तर्गतको तुषरपानी–टिंकर सडक खण्ड आयोजनामा बजेट बिनियोजन गर्दा बजेट घटाउने निकृष्ट राजनीति हुनु दुःखद् विषय भएको ठहर गर्दै सम्बन्धित मन्त्रालयको मन्त्रीहरुलाई संसदमा प्रतिवद्धता जाहेर गरेबमोजिम यथासीघ्र सो सडकमा बजेट थप गर्न सम्वन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।
यस्तै व्याँस गाउँपालिका वडा नम्बर २ दुम्लिङ र लेकम गाउँपालिका वडा नम्बर ३ रतौंडामा नेपाल–भारत जोड्ने झोलुंगे पुल निर्माणमा आवश्यक पर्ने भारत सरकारको सहमति प्राप्तिका लागि कुटनीतिक तहबाट पटक पटक पत्राचार एवं अनुरोध हुदै आइरहेको स्मरण गराउँदै प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा भारतीय पक्षको सहमतिको लागि पहल गरिदिन परराष्ट्र मन्त्रीलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
दार्चुला जिल्ला भित्रका विभिन्न स्थानहरुमा मनसुनि वर्षाको कारण पीडित भएका परिवारको उद्धार पुनःस्र्थापना र पुनःर्निमाण कार्यमा यथासिघ्र काम कारवाही अगाडी बढाउन सम्बन्धित निकायहरुको गम्भीर ध्यानाकर्षण गर्ने र जिल्ला भित्र संचालित विकास निर्माणका योजनाहरुको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित कार्यालय र संस्थाहरु संग जिल्ला पार्टीले समन्वय गर्ने निर्णय भएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?