दार्चुला : नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा दार्चुलामा अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । जिल्लाको महाकाली नगरपालिकास्थित महेन्द्र माविको छात्रावास र दुहुँ गाउँपालिका-४ धारीस्थित आवासीय अनाथालयका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
जिल्ला सदरमुकाममा अवस्थित महेन्द्र माविको छात्रावासमा रहेका २० जना अनाथ/टुहुरा बालबालिकाहरुलाई नेपाल निजामती कर्मचारी युनियन स्थापना दिवसको अवसरमा प्रति विद्यार्थी एक दर्जन कापी र कलम वितरण गरिएको नेपाल निजामती कर्मचारी युनियन दार्चुलाका सचिव राकेश ठगुन्नाले जानकारी दिए ।

छात्रवासमा पुगेर युनियन केन्द्रीय सदस्य विष्णु दत्त बडू, जिल्ला अध्यक्ष बिरेन्द्र सिंह धामी, विद्यालयका प्रधानाध्यापक दामोदर जोशी र युनियनमा आवद्ध कर्मचारीहरुको उपस्थितिमा टुहुरा बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको उनले बताए ।
यस्तै दुहुँ गाउँपालिकामा नेपाल निजामती कर्मचारी युनियन दुहुँ गाउँपालिका अध्यक्ष डम्बर सिंह कार्की, सचिव दिपक राज जोशी, प्रेम सिंह धामी लगायतको टोलीले शैक्षिक सामग्री कापी, कलम वितरण गरेको हो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?