दार्चुला : ब्याँस गाउँपालिकाको आयोजनामा जिल्ला सदरमुकाम खलंगामा शुक्रवार बसेको अन्तरपालिका समन्वय बैठकबारे ब्याँस गाउँपालिकाका उपाध्यक्ष बिनोद सिंह कुँवरले प्रश्न उठाएका छन् । अन्तर पालिका समन्वय बैठकको नाममा आफ्नै पालिकाभित्र समन्वय नगरेको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा प्रश्न उठाउँदै टिप्पणी गरेका हुन् । चार पालिकाको समन्वय बैठक जिल्ला सदरमुकाम खलंगामा आयोजना हुने भन्ने खबर गुइगाइ सुनिएको भन्दै उनले यसबारे आफूलाई कुनै जानकारी नै नभएको जनाएका थिए ।
उनले लेखेका छन् –‘ब्यास गाउपालिकाका कार्यपालिका सदस्यहरु र कर्मचारीहरुको जम्बो टोलि खलङ्गा तिर झर्या छन रे। अन्तरपालिका समन्वय बैठक भन्ने छ रे। तर अहिले सम्म न कतै सुचना देखिन्छ न पालिकाको आधिकारिक म्यासेन्जर ग्रुपमा, न फेसबुक पेजमा नै सुचना देखिन्छ। कतै सुचना छ कि भनेर दुई दिन अघि ग्रुपमा जानकारी माग गरेको थिए तर अहिले सम्म कसैबाट कुनै प्रतिकृया आएको छैन्। अनि पालिका भित्रै समन्वय नहुने र गर्न नसक्नेहरुले के अन्तरपालिका समन्वय बैठक गर्न सुहाउन्छ ?
कि बैठक विशेष व्यक्तिहरुका लागि मात्रै हो ? पालिकामा गर्नुपर्ने बैठक पटक पटक खलङ्गामा गरेर कर्मचारी र जनप्रतिनिधिको भ्रमण खर्चमा पालिकालाई लाखौ आर्थिक भार पार्न बाहेक केही उपलब्धी देखिन्न।’
उपाध्यक्ष कुँवरले पछिल्लो समय ब्याँस गाउँपालिकामा बेथिति मौलाएको भन्दै सामाजिक संजालमार्फत टिकाटिप्पणी व्यक्त गर्ने गरेका छन् ।
शुक्रवार ब्याँस गाउँपालिकाको आयोजनामा अपिहिमाल गाउँपालिका, नौगाड गाउँपालिका र दुहुँ गाउँपालिकाबीच अन्तर पालिका समन्वय बैठक सम्पन्न भएको हो ।
बैठकमा पालिकाहरु बीच समन्वय र सहकार्य गर्ने, सीमा क्षेत्रमा विकसित सडकहरुलाई निर्माण सम्पन्न गर्ने, पर्यटन पूर्वाधार र पदमार्ग निर्माणमा काम गर्ने बारे सहमति भएको छ ।
बैठकमा ब्याँस गाउँपालिका, दुहुँ गाउँपालिका र नौगाड गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । तर, अपिहिमाल गाउँपालिकाको उपस्थिति रहेको थिएन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

