दार्चुला : निर्वाचनमा एक अर्काका प्रतिष्पर्धी रहेका राजनीतिक दल र नेतृत्वबीच देश, लोकतन्त्र र संविधानको रक्षाका लागि सहकार्य आवश्यक रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले बताउनुभएको छ । बुधवार राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस जिल्ला कार्य समिति दार्चुलाले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै उनले वर्तमान समयमा राष्ट्रवादी शक्तिहरु देश, लोकतन्त्र र संविधान रक्षाका लागि एक ढिक्का हुनुको विकल्प नरहेको बताएका हुन् ।
पूर्वमन्त्री बडूले भने– ‘चुनावमा जीत–हार फरक कुरा हो, तर देश र लोकतन्त्र जोगाउने सवालमा राष्ट्रबादी शक्ति एकै ठाउँमा उभिनु आजको आवश्यकता हो ।’
उनले राष्ट्रिय मेलमिलापको नीतिमा जसरी विपीले सम्भावित व्यक्तिगत खतरा र राष्ट्र अस्तित्वको खतरालाई ध्यानमा राखेर स्वदेश फर्कने निर्णय लिनुभयो त्यसरी नै अहिले पनि लोकतन्त्र र व्यवस्था रक्षार्थ राष्ट्रहितमा लाग्नुपर्ने बताए ।
सोही कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिव उमेश जोशीले संकटको बेला देशका दुई ठूला राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने बताए । राजनीतिमा भीडतन्त्रले अन्तिम गन्तव्यमा पुग्न नसकिने बताउँदै अहिलेको परिस्थितिमा संविधान, लोकतन्त्र र समृद्धिका लागि काँगे्रस र एमाले अगाडी बढ्नुपर्ने विषय औल्याए ।
यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता खडक सिंह धामीले अहिले देशमा विदेशी चलखेल सुरु भइसकेकाले विदेशी हस्तक्षेप रोक्न पुराना राजनीतिक दलबीच समझदारी हुनुपर्ने धारणा राखे । लोकतन्त्र भनेको नै काँग्रेस भएको सम्झिँदै देशको पुरानो पार्टीले अहिलेको अवस्थालाई बुझेर अन्य पार्टीहरुलाई एकतावद्धको सुत्रमा बाध्न सक्नुपर्ने बताए । धामीले नयाँ भनिएकाहरुको विश्वास र भरोसा नभएकाले देश अप्ठ्यारो परिस्थितिमा रहँदा पुराना राजनीतिक दलहरुले यसप्रति सचेत रहदै समयमै सोच्न जरुरी रहेको बताए ।
भेटघाट तथा चियापान कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला सभापति राजेश सिंह सामन्तले अहिले प्रजातन्त्रको रक्षाको आवश्यकता रहेको औल्याए । उनले विपीको त्यो राष्ट्रिय मेलमिलापको नीति एकदमै सान्दर्भिक रहेकाले यो नीतिअनुसार चल्नसक्नुपर्ने बताए । काँग्रेसको यो कार्यक्रमले जिल्लास्थित विभिन्न राजनीतिक नेताहरुलाई पनि एक ठाउँमा हुने अवसर जुराएको उनको भनाई थियो ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष प्रकाश दयालीले राष्ट्रिय एकता र राष्ट्रियता कमजोर भएकाले राष्ट्र सकिने अवस्थामा आएको टिप्पणी गरे । उनले राप्रपाले ल्याएको नविन समझदारीका साथ दलहरुले अघि बढ्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस जिल्ला कार्य समिति दार्चुलाले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रम जिल्ला सभापति ललित सिंह बोहराको अध्यक्षतामा सञ्चालन गरिएको हो । उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू, नेकपा एमालेका जिल्ला कमिटि सचिव उमेश जोशी, नेकपाका नेता खडक धामी, रास्वपाका जिल्ला सभापति राजेश सिंह सामन्त, राप्रपाका जिल्ला अध्यक्ष प्रकाश दयाली, नेपाली काँग्रेसका प्रदेश समिति सदस्य करबिर सिंह कार्की, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्य समिति सदस्य, काँग्रेसका अन्य नेता तथा कार्यकर्ता र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

