दार्चुला : दार्चुला अस्पतालमा ब्लड बैंक स्थापनाका लागि राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीहरुले अग्रसरता देखाएका छन् । अस्पतालमा रगतको सहज आपूर्ति व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अग्रसरतामा ब्लड बैंक स्थापनार्थ सहयोग रकम संकलन गरिएको हो । ब्लड बैंकको स्थापनाका लागि ५ लाख रकम संकलन भएको छ । जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी र सुरक्षाकर्मीहरुबाट स्वःस्फूर्त रुपमा ५ लाख २ हजार ८८१ रुपैयाँ संकलन भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
‘सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रसेवक कर्मचारीहरुले अपनत्व लिएर सहयोग रकम संकलन अभियान थालनी भएको एक दुई दिनमै लाखौँ रकम उठेको भएको छ’, उनले भने– ‘अस्पतालमा आपतकालिन रगतको आवश्यकतालाई मध्यनजर गर्दै ब्लड बैंकका लागि अभियान थालिएको हो । यसमा बाँकी बजेट व्यवस्थापनका लागि स्थानीय तहहरुले सहयोग गर्नुपर्ने आवश्यकता छ ।’ अस्पतालमा ब्लड बैंक स्थापना भए रगतको सहज आपूर्ति हुने र जोखिमपूर्ण ज्यान जोगाउन सम्भव हुने उनले बताए ।

कर्मचारी र सुरक्षाकर्मीबाट संकलित उक्त रकम सोमवार एक कार्यक्रमका बीच नेपाल रेडक्रस सोसाइटी दार्चुला शाखालाई हस्तान्तरण गरिएको छ । यसैबीच अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दार्चुलाको अर्धवार्षिक समीक्षा कार्यक्रमको अवसरमा २ हजार ५ रुपैयाँ ब्लड बैंक स्थापनाका लागि सहयोग गरिएको छ ।
जिल्ला समन्वय समिति प्रमुख महादेव बडूले ब्लड बैंकका लागि जिल्लाका जनप्रतिनिधि र स्थानीय सरकारलाई सहयोगको लागि आह्वान गर्ने बताए । कर्मचारी र सुरक्षाकर्मीले थालेको यो अभियान पुण्य प्राप्तिको अभियान भएको भन्दै यसमा जनप्रतिनिधि र सरकारले सहयोग गर्नुपर्ने उनको भनाई छ ।
यस्तै महाकाली नगरपालिकाका प्रमुख नर सिंह चैसिरले ब्लड बैंक स्थापनाका लागि सहयोगको प्रतिवद्धता व्यक्त गरे । ‘समग्र जिल्लाबासीका नागरिकका लागि ब्लड बैंक अपरिहार्य छ । यसमा नगरपालिकाकोतर्फबाट सहयोग अनिवार्य हुन्छ । ’
जिल्ला अस्पताल दार्चुलाका प्रमुख, डाक्टर सन्जीव श्रेष्ठले अस्पतालमा ब्लड बैंक जरुरी रहेको भन्दै यसले रगत भण्डारण गर्न र गर्भवती, उच्च रक्तस्राव र दुर्घटनामा परेकाहरुको लागि सहजता हुने बताए ।
जिल्ला अस्पताल दार्चुलामा २०७२ सालमा ब्लड बैंक स्थापनाको प्रयास भएपनि आवश्यक उपकरण व्यवस्थापन नहुँदा त्यो प्रभावकारी हुन् सकेन् । त्यो बेला ब्लड बैंक स्थापनाका लागि संकलन गरिएको १ लाख १० हजार रुपैयाँ अहिले बैंकमा मौज्दात रहेको नेपाल रेडक्रस सोसाईटी दार्चुला शाखाका मन्त्री दिपक अवस्थीले बताए । अस्पतालमा सर्जरी गर्नुपर्ने र ब्लड चाहिने हुँदा आवश्यकतालाई बोध गरी अस्थायी रुपमा ब्लड बैंक स्थापनाको अनुमति प्राप्त गरेको मन्त्री अवस्थी सम्झन्छन् । ब्लड बैंकको व्यस्थापनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकार कसैको पनि ध्यान जान नसकेको उनको भनाई छ । जिल्ला अस्पतालमा रहेको ब्लड बैंकका लागि आवश्यक उपकरण खरिद गर्नुपर्ने छ ।
जिल्ला अस्पतालमा रगतको आवश्यकता पर्दा सुरक्षाकर्मी गुहार्नु पर्ने बाध्यता छ । बिरामीले रक्तदान गर्ने मानिससमेत फेसबुकमार्फत खोज्नुपर्ने अवस्था छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?