दार्चुला : महाकाली नगरपालिका–९ स्थित दत्तुु स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव हरिकृष्ण जोशीले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता वितरण गरेका छन् । शैल्यशिखर नगरपालिका–७ देबथली घर भएका जोशीले आफ्नो व्यक्तिगत खर्चबाट स्वास्थ्य चौकी दत्तुमा कार्यरत ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता वितरण गरेका हुन् ।
आइतवार महिला स्वयंसेविकाहरुको मासिक बैठकमा १ सय रुपैयाँका दरले ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता सहयोग गरिएको सिनियर अहेव जोशीले बताउनुभयो । बैशाख १७ गते महाकाली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर ९ अन्तर्गतका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरु र दत्तु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई १ दिने क्षयरोग खोजपड्ताल कार्यक्रम सञ्चालन गरिएको थियो ।
समुदायमा रोग पालेर बसिरहेका क्षयरोगीहरु पत्ता लगाइ रोग सर्ने दर कम गर्न, बिरामीदर कम गर्न तथा क्षयरोग नियन्त्रण तथा शून्य अवस्थामा राख्न बैशाख १९ गते एक्स–रे को माध्यमबाट क्षयरोग शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरबाट २२७ जनाले सेवा लिएका थिए ।
उक्त कार्यक्रममा बिरामी पत्ता लगाउने तथा शिविरमा सहयोग गर्ने स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रतिव्यक्ति एक सय रुपैयाँका दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने जोशीले घोषणा घोषणा गरे बमोजिम आइतवार ९ जना स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराएको हो । ग्रामिण क्षेत्रमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुको मनोबल बढाउन आफ्नो व्यक्तिगत तलबबाट प्रोत्साहन भत्ता उपलब्ध गराएको जोशीले बताउनुभयो ।
विगत ११ वर्षबाट स्वास्थ्य क्षेत्रमा कार्यरत सिनियर अहेव जोशी २०७१ सालबाट २०७६ सालसम्म जिल्ला अस्पताल दार्चुला तथा २०७६ सालबाट हालसम्म दत्तु स्वास्थ्य चौकीमा कार्यरत रहेका छन् । जोशी २०८१ साल चैत्र ७ गते १३ औँ ग्रामीण स्वास्थ्यकर्मीहरुको राष्ट्रिय सम्मेलनबाट देशकै ५ औँ उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलबाट सम्मानित एंव पुरस्कृत हुनुभएको थियो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?