शैल्यशिखरमा दरबन्दी भन्दा बढी कर्मचारी, करारको पनि महंगी र स्थानीय भत्ता

शैल्यशिखरमा दरबन्दी भन्दा बढी कर्मचारी, करारको पनि महंगी र स्थानीय भत्ता


दार्चुला : शैल्यशिखर नगरपालिकामा दरबन्दी भन्दा बढी कर्मचारी भर्ना गरेको पाइएको छ । आर्थिक वर्ष  २०८०/८१ को महालेखापरीक्षण प्रतिवेदन अनुसार नगरपालिकाले स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारी भर्ना गरेको पाइएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४  ले स्थानीय तहले स्थायी प्रकृतिको कामको लागि आवश्यक पर्ने तथा सेवा करारमा लिने कर्मचारीका लागि लाग्ने खर्च व्यहोर्ने स्रोतसमेत विश्लेषण गरी दरबन्दी प्रस्ताव गर्नुपर्ने र यस्तो दरबन्दीको व्यवस्थापन सर्वेक्षण गरी सभाबाट स्वीकृत गराउनुपर्ने व्यवस्था छ । तर, शैल्यशिखर नगरपालिकाले स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारी नियुक्त गरी तलव भत्ता भुक्तानी गरेको छ ।

यसरी बढी कर्मचारी पदपूर्ति गर्दा प्रशासनिक खर्च बढ्ने र अन्य उपलब्धीमा समेत नकारात्मक असर पर्न जान्छ । बढी कर्मचारी नियुक्ती गरी भुक्तानी गर्ने कार्य नियमसम्मत नदेखिएको महालेखाले जनाएको छ ।
स्वीकृत दरबन्दी नभएको बाल संरक्षण निरीक्षकमा एक जना नियुक्त गरी ३ लाख ९० हजार भुक्तानी, पशु चौथो ४ स्वीकृत दरबन्दी भएकोमा ४ जना थप गरी ८ जनाको ९ लाख ३६ हजार तलव भुक्तानी दिएको । वडा नम्बर ४ को कार्यालय सहयोगीमा स्वीकृत दरबन्दी २ जना रहेकोमा १ जना दरवन्दी भन्दा बढी पदपूर्ति गरी १ लाख ५६ हजार, वडा नम्बर ५ र ८ को वैधमा दरबन्दी नभएकोमा २ जना भर्ना गरी ४ लाख ६८ हजार तलव भत्ता भुक्तानी गरिएको छ ।

वडा नम्बर ६ को कार्यालय सहयोगीको २ स्वीकृत दरबन्दी रहेकोमा थप ३ जना पदपूर्ति गरी ४ लाख ६८ हजार, वडा नम्बर ८ मा सहजकर्ता कार्यक्रमका लागि स्वीकृत दरबन्दी नरहेकोमा १ पदपूर्ति गरी २ लाख ३४ हजार भुक्तानी गरेको पाइएको छ । यसरी गर्दा २६ लाख ५२ हजार अनियमित भएको महालेखाले जनाएको छ ।

यस्तै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ (८) मा नगर प्रहरी, सवारी चालक, सयस, बगैंचे, प्लम्बर लगायतका पद तथा सेवामा बाहेक करारमा नियुक्त गर्न पाइने व्यवस्था छैन्। तर, शैल्यशिखर नगरपालिकाले उल्लेखित पदहरुमा बाहेक कर्मचारी करारमा नियुक्त गरी तलब भत्ता ८२ लाख २९ हजार भुक्तानी गरेको छ । ऐनको व्यवस्था विपरीत कर्मचारी नियुक्त गरी भुक्तानी गर्ने कार्य नियमसम्मत नदेखिएको महालेखाले जनाएको छ ।

नगरपालिकामा १ जना ईन्जिनियर, ३ जना सव-ईन्जिनियर, २ जना अ. स. ईन्जिनियर, १ जना योजना सहायक, १ जना खा.पा.से.टे., १३ जना सहायक कम्प्युटर अपरेटर, ५ जना नाप्रासा र ६ जना कृषि चौथो भर्ना गरिएका छन् । कार्यबोझको आधारमा O&M गरी कानून बमोजिम पारदर्शि हिसावले मात्र कर्मचारी नियुक्ति गर्नुपर्ने महालेखाले सुझाव दिएको छ ।

करार कर्मचारीको महंगी र स्थानीय भत्ता
नगरपालिकाले करारका कर्मचारीलाई महँगी र स्थानीय भत्ता दिएको पाइएको छ । नेपाल सरकारको अर्थ मन्त्रालयले २०७९ बैशाख २१ गतेको परिपत्रअनुसार करारका कर्मचारीलाई महंगी भत्ता पाउने व्यवस्था गरेको छैन् । तर, पालिकाले करार सम्झौता गर्दा स्थानीय भत्ता दिने सम्झौता नरहेकोमा पालिकाले करार कर्मचारीलाई महंगी भत्ता र स्थानीय भक्ता भुक्तानी गरेको छ । परिपत्र र सम्झौता विपरित शैल्यशिखर नगरपालिकाले दुई जनालाई २८ हजार महंगी भत्ता र १ लाख ५२ रुपैयाँ स्थानीय भत्तावापत भुक्तानी गरेकाले उनीहरुबाट १ लाख २८ हजार ५२ रुपैयाँ असुल उपर गर्नुपर्ने महालेखाले औल्याएको छ ।

भरत सिंह विष्टको ८ महिनाको मंहगी भत्ता १६ हजार र ६१ हजार ६८० स्थानीय भत्ता गरी ७७ हजार ६८० रुपैयाँ र विरभद्र जोशीको ६ महिनाको १२ हजार महंगी भत्ता र ३८ हजार ३७२ रुपैयाँ गरी ५० हजार ३७२ रुपैयाँ असुल उपर गर्नुपर्ने महालेखा परीक्षणको प्रतिवेदनले देखाएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *