दार्चुला : जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकासँग ठूलो आवासीय सुविधाको भवन छ । निजामति कर्मचारीहरुको आवासीय सुविधाको लागि निर्माण गरिएको एक ब्लक भवन पूरै नगरपालिकाले उपभोग गरिरहेको छ । चार तलाको उक्त भवनमा १६ कोठा छन् ।
तर, महाकाली नगरपालिकाले कार्यालय प्रयोजनका लागि भन्दै अघिल्लो वर्षदेखि बाहिर कोठा भाडामा लिएको छ । आर्थिक वर्ष २०८०/०८१ को लेखापरिक्षण प्रतिवेदन अनुसार महाकाली नगरपालिकाले घरभाडा वापत १४ लाख ९८ हजार ४२० रुपैयाँ भुक्तानी दिएको छ ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९४ (११) मा सार्वजनिक निकायले वार्षिक पाँच लाख भन्दा बढी भाडा तिर्नुपर्ने गरी घर भाडामा लिनुपरेमा नियम ९४(४) बमोजिम प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने समितिबाट घर भाडा निर्धारण गर्नुपर्ने व्यवस्था छ ।
दार्चुला जिल्लाबाट कायम भएको जिल्ला दररेट अनुसार गाडी जाने बाटो भएकोमा रु. १५। प्रति वर्ग फिट गाडी जाने बाटो नभएकोमा रु. १३।– प्रति वर्गफिट उल्लेख छ । नगरपालिकाले चालू शीर्षकबाट १४,९८,४२० रुपैयाँ घर भाडा वापत भुक्तानी गरेको हो । नियममा भएको व्यवस्था बमोजिम प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समितिबाट भाड़ा निर्धारण गरेको छैन् ।
साथै, कोठाको क्षेत्रफललाई आधार लिई घर भाडा निर्धारण गरेको नदेखिएको महालेखा प्रतिवेदनले जनाउँदै कानूनमा भएको व्यवस्थाको पूर्णपालना हुनुपर्ने सुझाएको छ । नगरपालिका संग आफ्नै भवन छैन् । यस्तै अधिकाश वडा भाडाकै भरमा छन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?