दार्चुला : दुहुँ गाउँपालिकामा प्राविधिक कर्मचारीहरुको फिल्ड भत्तामा ८ लाख बढी खर्च भएको छ । आर्थिक वर्ष २०८०/८१ मा प्राविधिक कर्मचारीहरुको फिल्ड भत्ता वापत ८ लाख ४ हजार १४ रुपैयाँ खर्च भएको हो । लेखापरिक्षण प्रतिवेदन अनुसार गाउँपालिकाले ७ जना प्राविधिक कर्मचारीलाई फिल्ड भत्ता वापत ८ लाख ४ हजार १४ रुपैयाँ भुक्तानी गरेको छ ।
दुहुँ गाउँपालिकाले कर्मचारी फिल्ड सुविधा सम्बन्धी कार्यविधि, २०७९ तयार पारी पालिका र वडामा कार्यरत प्राविधिकहरुलाई महिनाको कम्तिमा १५ दिन फिल्डमा खटिएमा अनुसूचि १ बमोजिम मासिक फिल्ड भत्ता उपलब्ध गराउने उल्लेख छ ।
प्राविधिक कर्मचारीको फिल्ड भत्तामा खर्च गरिएको उक्त रकम गाउँपालिकाको कूल आन्तरिक आयको १५.६८ प्रतिशत हुन आउँछ ।
प्राविधिकले पेश गरेको मासिक फिल्ड भ्रमण फाँटवारीमा अनुगमन योजनाको नाम नखुलेको, कुन कुन स्थानमा भ्रमण गरेको हो सो नखुलेको र महिना भरिनै फिल्ड भ्रमण गएको भनि उल्लेख भएबाट स्रेस्तासाथ पेश भएको भ्रमण फाँटवारी यथार्थपरक छ भन्न सकिने अवस्था नदेखिएको मलेपले जनाएको छ ।
यस्तै अतः आन्तरिक आयको अनुपातमा फिल्ड भत्तावापतको रकम बढी खर्च भएको देखिएकोले आगामी दिनमा पालिकाले आवश्यकता र यथार्थमा रही फिल्डमा खटिएको अवस्थामा मात्र भुक्तानी गर्नुपर्ने र यस्तो खर्चमा नियन्त्रण गरिनु पर्ने सुझाएको छ ।
दरबन्दी भन्दा बढी कर्मचारी
दुहुँ गाउँपालिकामा दरबन्दी भन्दा बढी कर्मचारी नियुक्त गरिएको पाइएको छ । दुुहुँ गाउँपालिकामा गरिएकोे आर्थिक वर्ष २०८०/०८१ को लेखापरिक्षण प्रतिवेदन अनुसार पालिकामा दरबन्दी भन्दा बढी कर्मचारी नियुक्त गरिएको पाइएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहले स्थायी प्रकृतिको कामको लागि आवश्यक पर्ने तथा सेवा करारमा लिने कर्मचारीको लागि लाग्ने खर्च व्यहोर्ने स्रोत समेत विश्लेषण गरी दरबन्दी प्रस्ताव गर्नुपर्ने र यस्तो दरबन्दीको व्यवस्थापन सर्वेक्षण गरी सभाबाट स्वीकृत गराउनुपर्ने व्यवस्था छ । तर, पालिकाले स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारी नियुक्त गरी तलव भत्ता भुक्तानी गरेको हो ।
गाउँपालिकामा कृषि सहायक चौथोको स्वीकृत दरबन्दी ७ जना रहेकोमा ३ जना बढी पदपूर्ति गरी ९ लाख ७५ हजार तलव भत्ता भुक्तानी गरिएको छ । यस्तै ईन्जिनियरिङ सहायकस्तरको ७ जनाको स्वीकृत दरबन्दी रहेकोमा २ जना थप गरी ९ जना पदपूर्ति गरेर ६ लाख ५० हजार भुक्तानी दिइएको छ । यसरी १६ लाख २५ हजार रुपैयाँ अनियमित भएको महालेखाले जनाएको छ ।
दरबन्दी भन्दा बढी कर्मचारी नियुक्तीको पुष्टयाई तथा औचित्य पालिकाले पेश गरेको छैन् । जसले गर्दा प्रशासनिक खर्चमा वृद्धि हुनुका साथै अन्य कार्य उपलब्धीमा समेत नकारात्मक असर पर्दछ ।
१० लाख ३८ हजार घरभाडा तिरियो
दुहुँ गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा १० लाख ३८ हजार ४५१ रुपैयाँ घरभाडा वापत भुक्तानी गरेको छ । पालिकाको आफ्नै भवन २०८० असार मसान्तभित्र निर्माण सम्पन्न हुनुपर्नेमा अहिलेसम्म निर्माण सम्पन्न भएको छैन् ।
अत्यधिक अतिथि सत्कार खर्च
दुहुँ गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा अथिति सत्कारमा ५ लाख ७१ हजार २३२ रुपैयाँ खर्च गरेको छ । चियापान तथा अतिथि सत्कारमा ३ लाख ५९ हजार ९८० रुपैयाँ, अतिथि सत्कार वडा कार्यालयमा ३ लाख २७ हजार ६३५ रुपैयाँ र कन्टिन्जेन्सी खर्चबाट १ लाख ५० हजार समेत गरी कुल १५ लाख ५८ हजार ८७७ रुपैयाँ खर्च गरेको महालेखापरिक्षकको कार्यालयले जनाएको छ ।
जुन, दुहुँ गाउँपालिकाको आन्तरिक आयको ३० दशमलव २१ प्रतिशत हुन आउँछ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?