दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएको छ । कोषसँग सोमवार औपचारिक सम्झौता गरेपछि अपिहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएको हो । सामाजिक सुरक्षा कोषमा आवद्ध हुने सुदूरपश्चिम प्रदेशको पहिलो पालिका पनि अपिहिमाल बनेको छ ।
गाउँपालिकामा कार्यरत १ सय ५० भन्दा बढी करार सेवाका कर्मचारी, स्वयंसेवक शिक्षक तथा अन्य अस्थायी श्रमिकहरू प्रत्यक्ष लाभान्वित हुनेछन् ।
यसबाट पालिकाका कर्मचारीहरुको निवृतिभरण, बीमा र उपचार खर्च जस्ता महत्वपूर्ण सामाजिक सुरक्षा सुविधा प्राप्त हुने अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगत सिंह ठेकरे बोहराले बताए । कोषसँगको यो सम्झौताले कर्मचारीहरूको हकहित सुनिश्चित गर्ने दिशामा एक निर्णायक कदम भएको उनको भनाई छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सक्ने व्यवस्था गरेको छ । सोही ऐनको दफा १० मा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्ने छ भनी कोषले सञ्चालन गर्न सक्ने सामाजिक सुरक्षा योजनाहरूको दायरा किटान गरिएको छ ।
ऐनमा उल्लेखित सामाजिक सुरक्षा योजना सञ्चालन गर्नका लागि सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ कार्यान्वयनमा आएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?