दार्चुला : महाकाली नगरपालिकाका विद्यालयहरुको खानेपानीमा इकोली जीवाणु भेटिएको छ । नगरपालिकाका विभिन्न विद्यालयहरुको खानेपानी नमुना संकलन गरी गुणस्तर परिक्षण गर्दा तीन विद्यालयको खानेपानीमा इकोली जीवाणु भेटिएको स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख बिरेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
भदौ २ र ३ गते परिक्षण गर्दा मालिकार्जुन आधारभूत विद्यालय सकार, सरस्वती आधारभूत विद्यालय मुल्ला र जगन्नाथ आधारभूत विद्यालय धौलीगाडको खानेपानीमा इकोली जीवाणुको मात्रा भेटिएको उनले बताए ।
महाकाली नगरपालिका अन्तर्गतका १२ वटा विद्यालयहरुमा खानेपानीको नमुना संकलन गरी परीक्षण गरिएको थियो । पानीमा रहेको पीएच, टर्बिडिटी, इलेक्ट्रिक कन्डक्टिभिटी, क्लोरिनको मात्रा र इकोलीको जाँच गर्दा इकोली फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पानी परिक्षण जारी रहेको कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले खानेपानी शुद्धिकरणको विधिहरु अपनाइ प्रयोग गर्न सुझाएको छ । यसअघि पनि दार्चुलामा खानेपानीका मुहानहरुमा इकोली जीवाणु भेटिएको थियो । दोस्रो पटकको परिक्षणमा भने त्यो जीवाणु भेटिएको थिएन् ।
इकोली जीवाणु मानिसको दिसा र पशुहरुको दिसा पिसाबमा भेटिने जीवाणु हो । यसले हैजा, आउँ, झाडापखाला, पानीजन्य अन्य रोग टाइफाइड, पेट, टाउको दुख्ने जस्ता रोग लाग्ने गरेको चिकित्सकहरुले बताएका छन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?