अर्गानिक खेतीमा अपिहिमाल गाउँपालिका प्रदेशमै उत्कृष्ट

अर्गानिक खेतीमा अपिहिमाल गाउँपालिका प्रदेशमै उत्कृष्ट

दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिका सम्मानित भएको छ । ४५ औँ विश्व खाद्य दिवसको अवसरमा बिहीवार एक कार्यक्रमका बीच नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषि विभागले अपिहिमाल गाउँपालिकालाई सुदूरपश्चिम प्रदेशको उत्कृष्ट पालिकाको रूपमा सम्मान गरेको हो । अपिहिमाल गाउँपालिकामा ‘अर्गानिक अपि’ (विषादीरहित कृषि उत्पादन प्रवद्र्धन) कार्यक्रम सञ्चालनमा रहेको छ ।

सोहि ‘अर्गानिक अपि’ कार्यक्रमअन्तर्गत खाद्य सुरक्षामा र स्वच्छ खानामा पहुँच पुगेकोले अपिहिमाल गाउँपालिका सम्मानित भएको गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिए । हिमाली क्षेत्रको भूगोल भएको अपिहिमाल गाउँपालिकाले स्थानीय रैथाने बालीको संरक्षण, प्रवद्र्धन र बजारीकरणमा जोड दिएर कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

गाउँपालिकाले स्थानीय रैथाने उत्पादन जौ, कोदो, फापर, चिनु, कागुनु, लसुन, आलु, मार्सी धान, मसला बाली तथा फलफूल खेतीमा अर्गानिक स्याउ र ओखर उत्पादनमा प्रोत्साहन दिंदैँ स्थानीय उत्पादनलाई बजार र पर्यटनसँग जोड्ने अभियान अघि सारेको छ । गाउँपालिकाले पालिकाका २ स्थानमा कोशेलीघर स्थापना गरेको छ ।

यस्तै जौको बिस्कुट र डालेचुक उत्पादन साथै होमस्टे र पर्यटकीय क्षेत्रमा स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकतामा राखेको छ । त्यस्तै थोपा, पाइप र कुलो सिँचाइ प्रणालीको विस्तारमार्फत स्थानीय कृषकलाई उत्पादन वृद्धिमा सहयोग पु¥याइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकालाई उत्कृष्ट बनाउन प्रस्ताव गर्ने सुदूरपश्चिम प्रदेश कृषि मन्त्रालय, कृषि ज्ञान केन्द्र दार्चुला र कार्यक्रम सञ्चालनमा सहकार्य गर्ने सबै निकायप्रति अपिहिमाल गाउँपालिकाले धन्यवाद दिएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *