दार्चुला : जिल्लाकै ठूलो जात्राका रुपमा लिइने मालिकार्जुन गाउँपालिका-३ स्थित राष्ट्रिय धाम मालिकार्जुन मन्दिरको जात्रालाई सभ्य र भब्य मनाइने भएको छ । मङ्गलवार लाग्ने रात्रिकालिन जात्रालाई मध्यनजर गर्दै मदिरा तथा मदिराजन्य पदार्थमा पूर्ण रोक लगाइने, दुर्घटना हुन नदिन ट्राफिक नियममा कडाइ गर्ने र सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइने दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
जात्रालाई सभ्य र भव्य बनाउन हर सम्भव प्रयासको पहल थालिएको प्रजिअ पौडेलले बताए ।
जात्रालाई सुरक्षित एवं मर्यादित रुपमा मनाउन जिल्ला प्रशासनले सबैमा आग्रह गरेको छ । सोमवार प्रशासनले दोस्रो पटक सूचना जारी गर्दै मदिरा तथा लागूऔषधको सेवन र कारोवारमा पूर्ण रोक लगाइएको जनाएको छ । यस्तै घरेलु हातहतियार तथा कानूनले बर्जित गरेका हातहतियार साथमा लिएर प्रवेश गर्न नपाइने, हो-हल्ला, झै-झगडा, गालि, गलौच तथा अराजक र अवाञ्छनीय गतिविधि गर्न नपाईने तथा गरे गराईएको पाईएमा सख्त कारवाही हुने बताएको छ ।
मन्दिर परिक्रमा, दामाहा, झाँकी प्रदर्शन गर्दा पूर्व परम्परा अनुसार पालो मिलाएर गर्ने, मन्दिर परिसरका आसपासमा रहेका सार्वजनिक सम्पत्तिमा कुनै हानी नोक्सानी नगर्न, कुनै पनि जात्रालुलाई जुनसुकै प्रकारको समस्या परेको अवस्थामा सहायता कक्ष वा नजिक रहेका सुरक्षाकर्मी संग समन्वय गर्न अनुरोध गरेको छ ।
यस्तै जात्रालुहरुलाई स्वास्थ्य समस्या देखिएमा हेल्थडेस्कमा सम्पर्क गर्न र सवारी साधन चलाउँदा टाईम कार्डको अनिवार्य रुपमा पालना गर्न भनेको छ ।
जात्रा अवधिभर मदिरा तथा जुवातास पूर्ण रूपमा निषेध गरिएको छ। लागूऔषध तथा मदिराजन्य पदार्थलाई दृष्टिगत गर्दै प्रहरीले पसलहरूमा खोजतलास, निगरानी गर्नुका साथै जात्राको दिन नागरिकका झोलासमेत चेकजाँच गरी सेवन तथा बिक्री गरेको पाइए नियन्त्रणमा लिइ कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक गौरव महतले बताए।
जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न ४ प्रहरी निरीक्षकसहित १ सय ६० प्रहरी सुरक्षामा खटिनेछन् ।यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाबाट डीएसपीको कमाण्डमा १ सय ४० जना सशस्त्र प्रहरी खटिनेछन् ।
यस्तै तीन ठाउँमा होल्डिङ सेन्टर र एक ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिने प्रहरीले जनाएको छ ।
जात्राको दिन ट्राफिक व्यवस्थापन गर्न चौतलीचौर गेटभित्र सबै प्रकारका सवारी साधन प्रवेशमा रोक लगाइने जनाइएको छ । यस्तै राति १२ बजेदेखि बिहान ६ बजेसम्म सवारी साधन सञ्चालन गर्न पाइने छैन् ।
२०८० सालदेखि मालिकार्जुन जात्रामा मदिरालाई निशेध गरिएको छ ।
हरेक वर्ष कात्तिक शुक्ल त्रयोदशीका दिन शिखरधुरा पुजन जात्रा र चतुर्दशीका दिन मालिकार्जुन धाममा रात्रिकालिन जात्रा लाग्ने गर्छ ।
जात्राको लागि यहाँका दुई स्थानीय तह (शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिका) ले सोमवार र मङ्गलवार दुई दिन सार्वजनिक बिदा दिएका छन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

