दार्चुला : मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ हुनैनाथलाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । मंगलवार एक औपचारिक कार्यक्रमका बीच वडा नम्बर ४ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो । पछिल्लो १ वर्षमा वडाभित्र कुनै पनि बालविवाह नभएको पुष्टि भएपछि वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको वडा अध्यक्ष धन सिंह धामीले जानकारी दिए ।

वडा नम्बर ४ छैटौ वडाको रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको हो । यो संगै मालिकार्जुन गाउँपालिकाका ६ वडा बालविवाहमुक्त वडा घोषणा भएका छन् । जिल्लाकै पहिलो वडाका रुपमा २०८० सालमा मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ६ उकुलाई बालविवाहमुक्त वडा घोषणा गरिएको थियो । सोही वर्ष वडा नम्बर २ लाई पनि बालविवाहमुक्त वडा घोषणा गरिएको थियो । त्यस्तै २०८१ मा वडा नम्बर १, ३ र वडा नम्बर ८ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको मालिकार्जुन गाउँपालिका महिला बालवालिका तथा ज्येष्ठ नागरिक शाखा संयोजक आरती शर्माले जानकारी दिए ।
यसैबीच वडा नम्बर ७ लाई यहि मंसिर १९ गते बालविवाहमुक्त घोषणा गरिने उनले बताए । साथै वडा नम्बर ५ लाई पनि बालविवाहमुक्त वडा घोषणा गरी २०८२ सालभित्रै पालिकालाई बालविवाहमुक्त पालिका घोषणा गरिने संयोजक शर्माले बताए ।
मालिकार्जुन गाउँपालिकामा बालविवाह अन्त्यका लागि स्थानीय रणनीति २०७६ लागू भएपछि त्याँहा गैरसरकारी संस्था गुड नेवर्स इन्टरनेशनल र सीआरडीएस नेपालले बालविवाहविरुद्ध अभियान संचालन गरेर कार्यक्रम गर्दै आएका छन् । बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा सरोकारवाला पक्ष र उपस्थित सहभागीहरुलाई बालविवाहविरुद्धको हस्ताक्षर अभियानमा हस्ताक्षरसमेत गराइएको छ ।
सामाजिक कुरीतिका रुपमा रहेको बालविवाहलाई कानूनी मान्यता अनुसार सामाजिक चेतना र प्रतिवद्धताका साथ मालिकार्जुन गाउँपालिकालाई २०८२ भित्र बालविवाहमुक्त पालिका घोषणा गरिने गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामीले बताए । वडा अध्यक्ष धन सिंह धामीको अध्यक्षतामा सञ्चालन भएको बालविवाहमुक्त वडा घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुरज प्रसाद जोशी, शिक्षा शाखा प्रमुख एवं गाउँपालिकाका सूचना अधिकारी लोकेन्द्र सिंह धामी, वडाका अन्य जनप्रतिनिधि, पालिकाका कर्मचारी, साझेदार गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधि, वडास्थित विद्यालयका प्रधानाध्यापक एवं शिक्षकहरु, विद्यार्थी र अन्य स्थानीयको उपस्थिति रहेको थियो । हुनैनाथ मावि चन्दनपुरमा सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरुले जनचेतनामूलक सडक नाटक, नायन र नृत्य प्रदर्शन गरेका थिए ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

