दार्चुला : ब्याँसको घोरेटो बाटो निर्माण व्यवसायीले गाउँपालिकालाई हस्तान्तरण गरेको छ । बुधवार एक कार्यक्रमका बीच घोरेटो बाटोको उद्घाटन गर्दै गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । घोरेटो बाटोको उद्घाटन गाउँपालिका उपाध्यक्ष विनोद सिंह कुँवरले गरे । संघीय सरकारद्धारा गत आर्थिक वर्षमा ब्याँसको घोरेटो बाटो निर्माणका लागि गाउँपालिकालाई ५ करोड ५० लाख बजेट विनियोजन भएको थियो ।
उक्त रकम मध्ये ४ करोड २४ लाख ५५ हजार २२८ रुपैयाँ बाटो निर्माणमा खर्च भएको निर्माण कम्पनी मिशन–देवहरि जेभीका प्रतिनिधि केशव बहादुर पालले जानकारी दिए । गत आर्थिक वर्षमा समय अभावका कारण काम सम्पन्न हुन नसक्दा १ करोड २५ लाख ४४ हजार ७७२ रुपैयाँ फिर्ता भएको छ ।
ब्याँस गाउँपालिकाको वडा नम्बर १ छाङरुदेखि वडा नम्बर २ दुम्लिङसम्म करिब ३१ किलोमिटर बाटो निर्माण गरिएको पालले बताए । बाटो निर्माण गरिएसँगै बुधवार ब्याँस गाउँपालिका–१ छाङरुबाट केहि पशुचौपाया समानसहित जिल्ला सदरमुकामका लागि पठाइएको छ । वडा नम्बर १ का अध्यक्ष अशोक सिंह बोहरा लगायत योगेश बोहराको कुन्चा पठाइएको हो ।
ब्याँस गाउँपालिका–१ छाङरु जोड्ने बाटो नहुँदा भारतीय मार्ग हुँदै त्यहाँका स्थानीय पशुचौपायासहित कुन्चा (बसाइसराई) सर्ने गर्छन् । अब नेपालकै बाटो भएर ब्याँसीहरुको कुन्चा सार्न सकिने ब्याँस गाउँपालिकाले जनाएको छ । कडा चट्टानी भूभाग तम्बाकु, थी भीर, बयलीधार र अपिखोलामा जोखिम मोलेर बाटो निर्माण गरिएको बाटो निर्माणमा खटिएका स्थानीयसमेत रहेका जनक सिंह धामीले बताए ।
बाटो निर्माणका लागि गत जेठ ५ गते ब्याँस गाउँपालिका र मिशन–देवहरि जेभीबीच ठेक्का सम्झौता गरिएको थियो । आर्थिक वर्ष २०८१÷०८२ को समायावधिमा उक्त बाटोको निर्माण कार्य नसकिने देखिएपछि असार ७ गते गाउँपालिकाले आन्तरिक स्रोतबाट व्यहोर्ने गरी उक्त बाटो निर्माणको म्याद मंसिर १५ गतेसम्मका लागि थप गरेको थियो । जसका लागि गाउँपालिकाले ५० लाख रुपैयाँ छुट्याएको थियो । पूर्ववत सम्झौता बमोजिम असोजबाट बाटो निर्माणको कार्य थालिएको निर्माण मिशन–देवहरि जेभीका प्रतिनिधि पालले बताए ।
यसैबीच टिंकर जोड्ने गरी नेपाली सेनाले सडकको काम गरिरहेकोमा कल्जु भीरमा बाटोको ट्याक खोल्न सेनाले सहयोग गरेको हो । अहिले भारतीय मार्ग बाटै ब्याँस गाउँपालिका–१ को अधिकासं कुन्चा (बसाइसराई) सदरमुकाम झरिरहेको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

