दार्चुला : दुहुँ गाउँपालिकाका विभिन्न वडामा सञ्चालनमा रहेका एकीकृत सामुदायिक विकास परियोजनाहरूको संयुक्त अनुगमन गरिएको छ । गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग र सामुदायिक ग्रामिण विकास समाज नेपालको साझेदारीमा निर्माण गरिएका परियोजनाहरुको मूल्याङ्कन र अवलोकन गर्न सयुंक्त अनुगमन गरिएको हो ।
शुक्रवार दुहुँ गाउँपालिका उपाध्यक्ष शान्ती देवी बम, गाउँपालिकास्थित प्रशासन, शिक्षा शाखा, कृषि, महिला तथा बालबालिका शाखा र सहयोगी संस्था गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग र सामुदायिक ग्रामिण विकास समाज नेपालका प्रतिनिधिहरुले अनुगमन गरेका छन् ।
दुहुुँ गाउँपालिका वडा नम्बर ५ स्थित श्री धारीपाटा माध्यमिक विद्यालय, वडा नम्बर ४ स्थित भगवती आधारभूत विद्यालय पोक्सेमा अनुगमन गरेको सामुदायिक ग्रामिण विकास समाज नेपालका शिक्षा अधिकृत उदय बोहराले जानकारी दिए । धारीपाटा मावि निर्माण गरिएको बालमैत्री कक्षाकोठा व्यवस्थापन, बालविकास कक्षा, रेलिङ तथा शौचालय जस्ता भौतिक पूर्वाधारहरूको अवस्था बारे अवलोकन गर्नुका साथै, शिक्षक तथा विद्यार्थीहरूसँग छलफल गरी बालबालिकाहरूको पढाइ एवं सिकाइ सम्बन्धी, वर्तमान अवस्था र स्थानीय शैक्षिक सामग्रीहरूको प्रयोगबारे जानकारी लिइएको उनले बताए ।
यस्तै पोक्सेमा बालविकास कक्षाकोठाको पलस्तर, पेन्टिङ्ग र झ्याल–ढोकामा रङ लगाउने कार्य सम्पन्न बारे अवलोकन गरेर विद्यर्थीको बसाई व्यवस्थापन, स्पोन्सर बालबालिकाहरूलाई प्रदान गरिएको सहायता सामग्री र आवश्यकताका बारेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र सिह कार्की, प्रधानाध्यापक कुन्दन सिह कार्की र शिक्षकहरूसंग छलफल गरिएको छ ।
यसैबीच दुहुँ गाउँपालिका वडा नम्बर ३ बोहरीगाउँमा अनुगमन टोलीले स्थानीय प्राकृतिक खेति समूहको पोलिहाउस (ग्रीनहाउस) अनुगमन गरेको छ । कृषि अधिकृत नरेन्द्र बम ठकुरीले कृषकहरूलाई आवश्यक परामर्श प्रदान गर्दै उनीहरूलाई व्यवसायिक खेतीतर्फ उन्मुख हुन र आधुनिक प्रविधि अपनाउन आह्वान गरे ।
अनुगमनका अवसरमा यस वर्ष सम्पन्न गरिएका क्रियाकलापहरूको प्रगतिमा समीक्षा गर्दै देखा परेका कमजोरी तथा सुधारका बिन्दुहरूमा खुला छलफल गरिएको शिक्षा अधिकृत बोहराले बताए ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

