दार्चुला : जिल्लाका सीमावर्ती क्षेत्रमा हुने पशुपन्छी ओसारपसार नियन्त्रण गर्न संयुक्त अनुगमन निरीक्षण गरिएको छ । पशु क्वारेन्टाइन दार्चुला शाखा कार्यालयको आयोजना तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहकार्यमा जिल्लाका भारत संग सीमा जोडिएका नाकाहरुमा अनुगमन गरिएको हो ।

बिहीबार मालिकार्जुन गाउँपालिका-७ जोलजिवी, वडा नम्बर ६ को बाकु, सलेती लगायत सीमा क्षेत्रमा सरोकारवाला निकायको उपस्थितिमा अनुगमन निरीक्षण गरिएको पशु क्वारेन्टाइन दार्चुलाका पशु स्वास्थ्य प्राविधिक गोपाल सिंह धामीले जानकारी दिए ।
सीमा क्षेत्रबाट हुने अवैध पशुपन्छी ओसारपसार, पशुपन्छीजन्य पदार्थ चोरी निकासी नियन्त्रणका लागि अनुगमन गरिएको उनले बताए । सीमा नाकाबाट हुने अवैध ओसारपसार नियन्त्रणमा कडाइ गर्न सुरक्षाकर्मीहरुलाई सम्बन्धित सुरक्षा अधिकारीहरुले निर्देशन दिएका छन् ।

खासगरी बाह्यदेशबाट भित्रने नवीनतम तथा अन्य संक्रामक रोगहरुलाई मध्यनजर गर्दै सजगता अपनाउने, पशुपन्छीबाट सर्न सक्ने रोगहरुबारे स्थानीयलाई जानकारी गराउने तथा जनचेतना अभिवृद्दि गराउने, अवैध वस्तुलाई नियन्त्रण र कडाइ गर्ने जस्ता कार्य भइरहेको पशु क्वारेन्टाइन कार्यालयले जनाएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

