दार्चुला : सोमवार राति जिल्लामा दुई हत्या सम्बन्धी घटना भएका छन् । एक घटना जिल्ला सदरमुकामस्थित (महाकाली नगरपालिकाल–४ बङ्गाबगड) र एक चौलानी बेल्ट (शैल्यशिखर नगरपालिका–८ देवल) । यी दुई घटना फरक फरक प्रकृतिले घटेका छन् ।
घटना नम्बर १
स्थान : महाकाली नगरपालिका–४ बङ्गाबगड (रिङनेताल नजिक)
सोमवार राति खाना खाएर घरबाट (१०ः००–२ः०० बजे) को डिउटी गर्न हिनेका सामुदायिक प्रहरी सेवा केन्द्र बांगाबगडमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र बहादुर घर्ती सम्बन्धित ठाउँमा पुगेनन् । उनी मंगलवार बिहान करिब ७ बजेको समयमा महाकाली नगरपालिका–४ बंगाबगड सुरु हुने ठाउँ नजिकै होटल पछाडिको खाली ठाउँमा मृत फेला परे । त्यो ठाउँ अगाडी पुजा बियर बार एण्ड रेष्टुरेन्ट छ ।
घर्तीको मोबाइल बन्द थियो । साथै, उनको पारिवारिक सदस्य बिरामी परेकाले चिन्तामा होलान र कुनै कारणले घर्ती डिउटीमा नआएको हुन सक्ने व्यवहारिकता मिलाउदै सम्बन्धित प्रहरीले राति थप सोधपुछ गर्न भ्याएनन् ।
मङ्गलवार अर्धनग्ग अवस्थामा शव देखिएपछि प्रहरी युनिटमा खबर भयो । रातिको डिउटीमा हाजिर नभएका प्रहरी हवल्दार हुन कि भन्ने पनि चिन्ता प्रहरीमा बढ्यो ।नभन्दै बिहान घटनास्थल प्रहरी पुग्दा आफ्नै कर्मचारी रहेको पुष्टि भयो । उनको टाउँकोमा धारिलो वस्तुले हानेर ठूलो घाँउ बनेका, अनुहारमा निलडाम, शरीरमा पनि घाउँ रहेका थिए ।
शव फेला परेको अगाडी रहेको रेष्टुरेन्ट बिहान बन्द अवस्थामा थियो । घटना यतै घटेको हुन सक्ने आँकलन गर्दै भित्र नियाल्दा सिसाका बोतल टुटे फुटेका, रगतका छिटा भित्तामा छिपिएको पनि देखियो । उक्त रेष्टुरेन्टका सञ्चालक सहित अन्य सम्पर्कमा रहेनन् । घटना घटेको थाहा पाएदेखि जिल्ला भरिका प्रहरी युनिटलाई तैनाथ गर्दै बिहानैदेखि सीमानाकामा चेकिङ तथा निगरानी बढाइयो ।
रेष्टुरेन्टकी सञ्चालक एक सदस्य मात्रै प्रहरी सम्पर्कlमा थिइन भने अन्य तीन जना र एक नजिक रहेका व्यक्ति फरार भएको पाइयो । प्रहरीले यो घटनामा दिनभरि वरपरका केहि व्यक्तिहरुलाई निगरानी र सोधपुछ पनि गर्यो । अहिले प्रहरीले उक्त घटनामा नजिक रहेका भन्दै दुई जना महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको छ । रेष्टुरेन्ट सञ्चालक २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र एक पुरुष (नाबालक) लाई नियन्त्रणमा लिइएको छ ।
यस्तै, मालिकार्जुन गाउँपालिका–६ घर भई बांगाबगडमा पुजा बियर बार एण्ड रेष्टुरेन्ट चलाउँदै आएकी ३९ वर्षीय जानकी बम, उनका २१ वर्षीय छोरा आशिष पाल, १९ वर्षीय मनिस पाल र सहयोगीका रुपमा नजिक रहँदै आएका दुहुँ गाउँपालिका–२ हिकिलाका ट्याक्टर व्यवसायी ४२ वर्षीय राजेन्द्र सिंह डडाल घटनापछि फरार रहेको प्रहरीले बताएको छ ।
डडाललाई मङ्गलबार राति जिल्लाको नौगाड गाउँपालिकाबाट पक्राउ गरिएको छ । अन्यहरुको अहिले व्यापक खोजी भइरहेको छ । भारत भाग्न सक्ने कुरालाई मध्यनजर गर्दै उनीहरुको खोजी तीब्र पारिएको छ ।
घटना नम्बर २
स्थान : शैल्यशिखर नगरपालिका-८ (देवल)
सोमवार राति नै जिल्लाको शैल्यशिखर नगरपालिका–८ देवलकी ७१ वर्षीया लक्ष्मी जोशी मंगलवार बिहान मृत फेला परिन्। उनी घरमा एक्लै बस्दै आएकी थिइन् । उनी संग गरगहना थियो । गरगहनाकै लागि वृद्दाको हत्या भएको हुन सक्ने आकलन स्थानीयले गरे र प्रहरीलाई खबर गरे ।
लगत्तै इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक निरज भाटको नेतृत्वमा टोली घट्नास्थल खटियो । उक्त घटनाबारे थप जाँचबुझका लागि प्रदेशबाट तालिमप्राप्त कुकुर सहितको प्रहरीको अनुसन्धान टोली बेलुकी घटनास्थल पुग्यो ।
अहिले प्रहरीले घटनास्थल मुचुल्का उठाउदैछ । वृद्दाको टाउकोमा चोट रहेको र गरगहना लुटिएको पाइएको छ । साथै, अनुसन्धानको दायरामा आएका केहि स्थानीयलाई प्रहरीले सोधपुछ गरिरहेको छ । यो घटना पनि अनुसन्धान मै छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

