दार्चुला : नेपाली काँग्रेस दार्चुलाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार धर्मानन्द जोशीले आफू जनताको सेवक बन्न राजनीतिमा आएको बताउनुभएको छ । शनिवार नेपाली काँग्रेसले मार्मा गाउँपालिकामा आयोजना गरेको आमसभामा बोल्दै उनले आफ्नो उम्मेदवारी सांसद बन्न मात्रै नभई जनसेवक बन्न भएको बताएका हुन् ।
उनले भने– ‘यहाँका ग्रामीण क्षेत्रका जनताका दुःख, पीडा र जीवन मैले बुझेको छु । म त्यही जनताका आवाज संसदमा पुगाएर जनताको सेवक बनी जनसेवामा जीवन समर्पण गर्न चाहन्छु ।’
जोशीले चुनावी आमसभालाई सम्बोधन गर्दै आफूले शान्ति, सुरक्षा, सुशासन र मानवअधिकारका क्षेत्रमा काम गरेको अनुभव बटुलेको र जीवनमा अभाव, दुःख गरिबीसंग लडेर आएकाले पनि आफू सधै भ्रष्टाचारको विरुद्धमा लड्ने बाचा गरे ।
उनले आफू सजिलो जनप्रतिनिधि बन्न चाहेको बताउदै जनताले खोजेको समयमा उपस्थिति जनाएर जनताकै काम गर्ने बताए ।
जनताको घरदैलोमा पुग्दा आफू नयाँ भएकोले जनताबाट अपार स्नेह, माया पाइरहँदा चुनाव जित्ने विश्वास लिएको जोशीले बताए ।
चुनावी आमसभालाई सम्बोधन गर्दै काँग्रेस महासमिति सदस्य एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य विक्रम सिंह धामीले यो क्षेत्र तर्पण, अर्पण र समर्पणको धर्ति भएको बताएका छन् । उनले बन्धन र अभिनन्दनको धर्ति पनि भएकाले स्वच्छ, इमान र निष्ठाको राजनीति बनाउनु पर्ने बताए ।
सोही आमसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस दार्चुलाका सचिव पुलेन्द्र बहादुर कार्कीले अहिलेको निर्वाचन सामान्य निर्वाचन नभई देशमा शान्ति, स्थायित्व, सुशासन स्थापना गर्नुका साथै देशको स्वाधीनता सार्वभौमिकता, लोकतन्त्र र संविधान रक्षाको लागि भएकोले पनि वर्तमान राजनीतिक परिवेशमा देश सम्हाल्न सक्ने योग्य व्यक्ति काँग्रेस पार्टी सभापनि गगन थापा भएको धारणा राखे ।
गगन थापाको नेतृत्वलाई जोड दिएका सचिव कार्कीले दार्चुला नेपाली काँग्रेसका उम्मेदवार जोशीलाई गगन थापाको अभियान्ता भएको संज्ञा दिए । उनले जोशीलाई आफ्नै खुट्टामा उभिने र खुट्टा नकमाउने सारथी, भ्रष्टाचार नगर्ने उम्मेदवारका रुपमा लिए ।
यसैबीच उनले तीन दशक राजनीति गर्दा पनि बेगादी भएर जिल्लामा नेतृत्व हस्तान्तरण गर्ने एक मात्रै पात्र नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू भएको बताए ।
मार्माको चुनावी आमसभामा नेपाली कांग्रेसकोतर्फबाट समानुपातिक उम्मेदवार करबिर सिंह कार्की, सुदूरपश्चिम प्रदेश कार्य समिति सदस्य मदन गिरी, जिल्ला उपसभापति मान सिंह बुढाथोकी, सचिवद्वय पुलेन्द्र बहादुर कार्की र माधव राज भट्ट, महासमिति सदस्य हरक बिष्ट, शम्भु प्रसाद जोशी, गणेश राज भट्ट, पदम राज पन्त, महाधिवेशन प्रतिनिधि नरेन्द्र सिंह धामी, पूर्व उपसभापति अमर सिंह धामी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेकोे थियो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

