दार्चुला : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दार्चुलामा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण दत्त जोशीसहित आठ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१(१) अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ । दार्चुलामा कुल ४७ हजार ८ सय ९० मत सदर भएकोमा जमानत जोगाउन कम्तीमा ४ हजार ७ सय ८९ मत आवश्यक थियो ।
नेकपाका जोशीले भने तीन हजार ६५ मत मात्रै पाउँदा धरौटी जोगाउन सकेनन् । उनी २०६४ सालमा भने २५ हजार ४ सय ४ मतसहित विजयी भएका थिए ।
यस्तै धरौटी जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेश चन्द (६६६), नेपाल मजदुर किसान पार्टीका रमेश कुमार रावल (१८), राष्ट्रिय जनमोर्चाका बिर्ख राज पन्त (८६), नेपाल कम्युनिष्ट पार्टी संयुक्तका विद्या देव जोशी (४१), संघीय लोकतान्त्रिक राष्ट्रिय मंन्चका गगन ठगुन्ना (१९), नेपाल कम्युनिष्ट पार्टी माओवादीका नवराज भट्ट (२९८) र आम जनता पार्टीका प्रेम सिंह बडाल (३४) रहेका छन् ।
यहाँ नेकपा एमालेका गणेश सिंह ठगुन्नाले १८ हजार ८ सय ९१ मत प्राप्त गरी विजयी भए । यस्तै काँग्रेसका धर्मानन्द जोशीले १५ हजार ८ सय ३६ मत ल्याए भने रास्वपाका राजेश सिंह सामन्तले ८ हजार ९ सय ३६ मत प्राप्त गरे ।
निर्वाचन ऐनको दफा ७०(१) अनुसार प्रत्यक्ष उम्मेदवारले दश हजार रुपैयाँ धरौटी राख्नुपर्छ । उक्त दफाको उपदफा २ मा महिला र दलित वा अल्पसंख्यक समुदायका उम्मेदवारले उप दफा १ बमोजिमको धरौटीमा ५० प्रतिशत छुट पाउने व्यवस्था छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

