दार्चुला : जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा कार्यरत ६५ औँ ब्याजका प्रहरी कर्मचारीहरुले आफ्नो जागिरको वार्षिक उत्सव (‘जब एनिभर्सरी’) को अवसरमा अनाथालयमा खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलबाट २०६३ चैत १ गते भर्ना भएका ६५ औँ समूहका प्रहरीहरुले आफ्नो जागिर वार्षिकोत्सव मनाउने क्रममा जिल्लाको दुहुँ गाउँपालिका–४ स्थित अनाथालयमा खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेका हुन् ।
आइतवार जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख हेमराज भट्टको उपस्थितिमा एक कार्यक्रमका बीच अनाथालयमा उनीहरुले खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेका छन् ।
बालबालिकाको पठनपाठनमा केही राहत पुगोस् भन्ने उद्देश्यले खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरिएको बताइएको छ । ६५ औँ समूहका प्रहरी हवल्दार रुकुम सिंह डोबालको नेतृत्वमा आर्थिक रकम संकलन गरी करिब तीन दर्जन प्रहरी कर्मचारीहरुले आफ्नो जागिरको वार्षिकोत्सव मनाएका हुन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

