दार्चुला : दार्चुलामा चितुवाको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका–७ ऐर गाउँका ५० वर्षीय भान सिंह ऐर रहेका छन् । ऐरलाई शैल्यशिखर नगरपालिका–३ कर्कलेस्थित गोकुलेश्वर मार्मा सडकखण्डबाट चितुवाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिए ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ऐरको साथमा रहेको कालो झोला चेकजाँच गर्दा झोलामा लुकाइछिपाई लग्दै गरेको अवस्थाबाट ६ फिट तीन इन्च लम्बाई, एक फिट १० इन्च चौडाई भएको एक थान चितुवाको छाला बरामद भएको सूचना अधिकारी रावतले बताए ।
जिल्ला प्रहरी कार्यालय दार्चुला र ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
चितुवाको छालासहित पक्राउ परेका ऐरलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय दार्चुला बुझाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?