दार्चुला : दार्चुलाको ब्याँस गाउँपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख (लेखापाल) गोपाल सिंह विष्टप्रति अनेक आरोप लागेका छन् । ब्याँस गाउँपालिका उपाध्यक्ष बिनोद सिंह कुँवरले सामाजिक सञ्जाल फेसबुकमा लेखापालप्रति विभिन्न आरोप लगाएका हुन् । लेखापालले अफिसियल काम वा सल्लाहका लागि फोन गर्दा पनि न फोन उठाउने, न कल ब्याक गर्ने भन्ने पहिलो आरोप उपाध्यक्ष कुँवरको छ । फोन कल रिसिभ नगर्नेले सेवाग्राहीलाई कति दुःख दिएको होला भन्ने प्रश्न तेर्साइएको छ ।
यस्तै लेखापाल विष्टमाथि गाउँसभाबाट सर्वसम्मत पारित भएको बजेट वक्तव्यको सफ्टकपी नै संसोधन गरी इन्ट्री गरेको अर्को आरोप छ । कुनै कर्मचारीले केहि भन्यो भने भुक्तानीमा समस्या सृजना गर्ने, बजार दररेट भन्दा झण्डै तीन गुणा बढी रेट हालेर सामग्री खरिद गर्ने गरेको उपाध्यक्षको औल्याएका छन् । उपाध्यक्ष कुँवरले मनपरी ढंगले यस्तो गर्नेलाई पालिकामा के भनेर राख्ने र स्थानीय नै हो भनेर कति सम्म छुट दिने भनेर सामाजिक सञ्जालमा प्रश्न गरेका छन् । लेखापालप्रति न कुनै कर्मचारी, न कुनै सेवाग्राही, न कुनै निर्माण व्यवसायी, न जनप्रतिनिधि सन्तुष्ट छन भनी उपाध्यक्षले भनेका छन् ।
यसअघि ब्याँस गाउँपालिकाको कार्यपालिका बैठकले असक्षम लेखापाल भनि हटाउने निर्णय गरेको थियो । त्यो निर्णय भने पछि लुकाइएको थियो । सोही कुरालाई उपाध्यक्ष कुँवरले पनि उठाएका छन् ।
साथै उपाध्यक्ष कुँवरले कर्मचारी बैठकमा यस्ता खाले प्रश्न राखेर सम्झाउने गरेको बताउँदै त्यो पार नलाग्दा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न बाध्य भएको समेत बताएका छन् ।
‘न कुनै गाडी भाडा मिलाइदे भन्नू छ, न हवाइ भाडा मिलाइदे भन्नू छ, न तलब भत्ता हालिदे भन्नू छ, न कुनै भ्रमण भत्ता नै मिलाइदे भन्नू छ । अनि अफिसियल काम वा सल्लाहका लागि फोन गर्दा पनि, न फोन उठाउने न कल ब्याक नै गर्ने । यस्ताले सेवाग्राहिलाई कति सम्मन दुख दिएको होला ? कल्पना गरौ त ? गाउँ सभाबाट सर्वसम्मत पारित भएको बजेट बक्तव्यको सफ्टकपी नै संशोधन गरि इन्ट्री गर्ने यत्रो हिम्मत एक कर्मचारी (लेखापाल) लाई कसले दियो ? यस्ताहरुबाट कस्तो शुशासन कायम गर्न सकिएला ? कुनै कर्मचारीले केही भन्न खोजे भुक्तानीमा समस्या सृजना गर्ने । बजार दर रेट भन्दा झण्डै तीन गुना बढी रेट हालेर सामग्री खरिद मनपरी तरिकाले आफै गर्नेलाई पालिकामा के भनेर राख्ने ? स्थानीय नै हो भनेर कति सम्म छुट दिने ? न कुनै अन्य कर्मचारी सन्तुष्ट छन्, न सेवाग्राही सन्तुष्ट छन्, न व्यवसायी, निर्माण व्यवसायी सन्तुष्ट छन्, न जनप्रतिनिधी नै सन्तुष्ट छन् ।
म अनुपस्थित भएको कार्यपालिका बैठकले कार्य सन्तोषजनक नभएको भनेर लेखापाललाई हटाउने निर्णय गरेको थियो । तर, सायद मालिकको निर्देशन पाएर होलान बिना सर्त कार्यपालिका निर्णय फेरेछन् । अनि यस्तो पावरको धाक देखाउनेलाई के भनेर राख्ने ? यस्ताहरुको मुल्याङ्कन र सफाइ जनता आफै गर्नु होला । कौडिको भाउमा बेचिनेहरुबाट यस्ता समस्या समाधान होलान भन्ने मलाई लाग्दैन । स्थानीय होनहार युवाहरु हुन्, स्थानीय भएकोले दोहोरो जिम्मेवारी छ । सचेत र सजक बनौ भनेर प्रत्येक स्टाफ बैठकमा कति सम्झाए तर, केही नलागेपछि सामाजिक सन्जालमार्फत तपाईहरुलाई जानकारी गराउनु मेरो बाध्यता हो ।’
यस विषयमा ब्याँस गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतले एक विज्ञप्ती जारी गर्दै उपाध्यक्ष कुँवरले सामाजिक सञ्जालमा गरेका टिकाटिप्पणीबारे ध्यानाकर्षण भएको जनाउँदै कुनै कर्मचारीसँग व्यक्तिगत र असमझदारी भएकै कारण अफवाह फैलाई सम्पूर्ण कर्मचारीहरुको मनोबल कमजोर पार्ने तथा हतोत्साहित गर्ने कार्य गर्नुभन्दा जनप्रतिनिधि र कर्मचारीहरुबीच आपसमा छलफलका माध्यमबाट समस्याको समाधान खोज्नुमा सबैको हित हुने सुझाइएको छ ।
यस्तै लेखापाल विष्टले प्रमुख प्रशासकीय अधिकृतद्धारा हस्ताक्षरित विज्ञप्ती फेसबुकमा सेयर गर्दै उपाध्यक्ष कुँवरले लेखेका असत्य कुरा सत्य होइनन भनेर भन्नुपर्ने अवस्था आएको बताएका छन् ।
उनले गाउँसभाबाट बजेट स्वीकृत भइ पालिका अध्यक्षले प्रमाणित प्रति लेखामा पेश भएपछि बजेट सुत्रमा इन्ट्री गरेको बताए । यस्तै बजार दररेट भन्दा बढी रेट कायम गरी सामग्री खरिद गरेको भन्ने उपाध्यक्षको आरोपमा सार्वजनिक खरिद गर्दा सार्वजनिक खरिद ऐन नियमावली अनुसार गाउँपालिकाको खरिद समिति र कार्यालय प्रमुखको स्वीकृति अनुसार नै खरिद गरिने भएकाले लेखाले मात्र खरिद गरेको भन्ने सत्य नभएको लेखापाल विष्टले बताएका छन् ।
यस्तै नियम संगत पेश हुन आएका भुक्तानीका फाइलहरु बजेट निकासा भए अनुसार भुक्तानी गरिएको, कानूनी प्रक्रिया पुगेका, खर्चको स्रोत सुनिश्चितता भएका र कार्यालय प्रमुखको तोक आदेश गरेका कुनै पनि फाइलको भुक्तानी नरोकिएको उनले बताएका छन् । साथै उनले यस्ता भ्रामिक तथ्यहिन कुरा सत्य नभएको जनाउँदै गलत कुराको भ्रममा नपर्न अनुरोध गरेका छन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?