देउसी–भैलोको मर्म र आधुनिकताको प्रभाव

देउसी–भैलोको मर्म र आधुनिकताको प्रभाव

✍️अमित जोशी

तिहार — उज्यालो, प्रेम र सम्बन्धको त्यो पर्व, जसले केवल घरको अन्धकार होइन, मनको अन्धकार पनि हटाउँछ। हाम्रो समाजमा तिहारको रौनक त्यतिबेला मात्र पूरा हुन्छ, जब गाउँभर “देउसी रे! भैलो रे !” को स्वर गुञ्जिन्छ।

देउसी–भैलो केवल गीत होइन, त्यो हाम्रो पुर्खाको आवाज हो। त्यो हाम्रो संस्कृतिको नाडी, समाजको एकताको संगीत र हाम्रो अस्तित्वको उज्यालो हो। तर आजको परिवेशमा यो परम्परा पनि परिवर्तनको घेरामा छ कसैले यसलाई आधुनिकताको नाममा “फास्ट” बनाइरहेका छन्,कसैले व्यावसायिकता र प्रतिस्पर्धाको रंग हाल्दै छन्।

त्यसैले आज आवश्यक छ । देउसी–भैलोको आत्मा बुझेर, त्यो परम्पराको मर्म फेरि जीवन्त बनाउने प्रयासदेउसी–भैलोको कथा बलिराजाको समयमा पुग्छ।
देउसी–भैलोको कथा बलिराजाको समयमा पुगेको मानिन्छ। कथा अनुसार, बलि नामका दानवराज अत्यन्त दानी र धार्मिक राजा थिए। उनको दानशीलता र भक्तिले देवताहरू डराए, किनभने बलिको शक्ति बढ्दै गइरहेको थियो। त्यसैले भगवान विष्णुले वामन अवतार लिएर ब्राह्मणको रूपमा बलिसँग गए र तीन पाउ* जग्गा मागे।

बलिले सहजै सहमति जनाए, तर विष्णुले एक पाउले पृथ्वी, अर्को पाउले आकाश नापे र तेस्रो पाउ राख्ने ठाउँ नबाँकी भएपछि बलिले आफ्नो टाउको अर्पण गरे। विष्णुले उनको भक्तिभावबाट प्रसन्न भएर उनलाई पाताल लोकको राजा बनाए र वर्षमा एकपटक पृथ्वीमा आउने वरदान दिए।

त्यही बेला बलिको स्वागत र उनको आगमनको खुसीमा गाउँघरका मानिसहरूले “देउसी–भैलो” खेल्ने चलन सुरू भएको जनविश्वास छ —
देउसी बलिराजाको जयगान हो (“देउसी रे” भन्नु भनेको “देउसी देउसी राजा बलि” भन्ने छोटो रूप हो),
भैलो भने भगवान विष्णुको अवतार वामन र लक्ष्मी माताको जयगानका रूपमा गाइन्छ।

यसरी, देउसी–भैलो पर्व दान, भक्तिभाव, र शुभकामनाको प्रतीक मानिन्छ। त्यस दिनलाई सम्झन, मानिसहरूले बलिराजाको सम्झनामा गीत गाउने चलन बसाल्न थाले —“देऊ सी रे” अर्थात् “देऊ आशीर्वाद, देऊ दान”, त्यो नै पछि देउसी बन्यो। भैलो भने भाइ–टीकाको प्रतीक गीत, जसमा माया, आशीर्वाद र आत्मीयता मिसिन्छ।

जब हामी सुन्छौं —

“आहै भन मेरा भाई हो देउसी रे
आहै राम्ररी भन देउसी रे
आहै स्वर मिलाई भन देउसी रे”

यी शब्दले सिकाउँछन् — स्वर मिलाउँ, मन मिलाउँ, समाज मिलाउँ।
देउसी केवल आवाज होइन, त्यो सामूहिक एकताको शिक्षा हो।

“आहै झिलिमिली झिलिमिली देउसी रे
आहै बत्तीको झिलिमिली देउसी रे
आहै फूलको झिलिमिली देउसी रे”

यी शब्दले उज्यालो र सौन्दर्यको प्रतीक जनाउँछन्।
बत्तीको झिलिमिलीले प्रकाश फैलाउँछ, फूलको झिलिमिलीले सुगन्ध —
त्यो सन्देश हो, जीवनमा पनि उज्यालो र सुन्दरता फैलाऊ।

“ए रातो माटो देउसी रे
चिप्लो बाटो देउसी रे
आहै लड्दै पड्दै देउसी रे”

यो जीवनको यथार्थ हो — बाटो चिप्लो हुन्छ, तर हिँड्ने मन कहिल्यै थाक्दैन।
देउसीको हाँसोले सन्देश दिन्छ —
“संघर्षमा पनि गीत गाऊ, असफलतामा पनि हाँस।”

“बलिमा राजा देउसी रे
हुकुमले गर्दा देउसी रे”
— पुर्खाको दान, धर्म र आदर्शको स्मरण।

“आहै माता र पिता देउसी रे
आहै बरपीपल जस्तै देउसी रे
आहै मौलाही रहुन देउसी रे”
स्थायित्व, सम्मान र आशीर्वादको प्रार्थना।

“आहै माटोमा छुदा देउसी रे
आहै अन्नमा बनुनु देउसी रे आहै कागजमा छुदा देउसी रे आहै पैसा नै बनुन देउसी रे” — समृद्धिको प्रतीक। देउसीमा माटो, अन्न, पैसा सबै आशीर्वादको रूप हो —प्रकृतिबाट समृद्धि माग्ने पुर्खाको प्रार्थना।

आधुनिक परिवेशमा देउसी–भैलो : रूपान्तरण र प्रभाव

आजको नेपालमा देउसी–भैलोले नयाँ रूप लिएको छ। पहिले गाउँमा गीत मौखिक रूपमा सिर्जना हुन्थ्यो — आज ती गीतहरू स्पिकरमा बज्छन्, पहिले गीतमा माया र व्यङ्य मिसिन्थ्यो —आज ताल र ट्रेन्ड मिसिएको छ।

यो परिवर्तनको दुवै पाटो छन् —

आधुनिक प्रविधिले देउसी–भैलोलाई नयाँ जीवन दिएको छ। टिकटोक, युट्युब र फेसबुकजस्ता माध्यमले गाउँको आवाज विश्वभर पुर्‍याइदिएका छन्। नयाँ पुस्ताले गीतमा सृजनात्मकता र प्रदर्शन–कला जोडेका छन्।यसरी हेरियो भने — आधुनिक देउसीले संस्कृतिलाई मरेर होइन,नयाँ रूपमा बाँच्न सिकाएको छ।

तर यसैसँगै केही कुरा हराउँदै पनि छन् —पहिलेको आत्मा, त्याग र मर्म। देउसी आज धेरै ठाउँमा प्रतियोगिता र पैसाको स्रोत बन्दै गएको छ।कसैले ठूलो स्पिकर ल्याउँछ, कसैले स्पोन्सर खोज्छ,तर गीतको आत्मा — “माया बाँड्ने” भावना —धेरै ठाउँमा हराइरहेको छ।

कसैले घरमा देउसीको समूह आउँदा ढोका बन्द गर्छ, कसैले भन्छ, “अब त यी बालबालिका पैसा माग्न मात्रै आएका।” यो सोचले संस्कृति र समाजबीच दूरी बढाइरहेको छ। पुर्खाको आवाज बजारको शोरमा हराउँदै गएको छ।

संस्कृति बदलिन सक्छ, तर संवेदनशीलता कहिल्यै हराउन हुँदैन।देउसी–भैलोलाई नयाँ रूप दिनु गलत होइन,तर त्यसको मर्म हराउनु — त्यो हाम्रो पुस्ताको गल्ती हुनेछ।

हामीले पुर्खाको देउसी गाउन नसके पनि,त्यो भावना — आशीर्वाद, दान, माया, एकता —जोगाएर राख्न सक्नुपर्छ।

देउसी गाउने हातमा अब गिटार वा माइक हुन सक्छ,तर मनमा चाहिँ अझै पनि“झिलिमिली दियो” बाल्नै पर्छ। किनकि जबसम्म त्यो उज्यालो रहन्छ,संस्कृति कहिल्यै मर्दैन।

देउसी–भैलो हाम्रो समाजको आत्मा हो, हाम्रो माटोको सुगन्ध हो, र पुर्खाको आत्माको उज्यालो हो। यो गीत गाएर हामी केवल रमाइरहेका छैनौं, हामी इतिहास दोहोर्याइरहेका छौं।

आज आधुनिकता बढ्दै जाँदा पनि जब कुनै गाउँको गल्लीमा “देउसी रे!” गुञ्जिन्छ, त्यो केवल स्वर होइन, त्यो हाम्रो पहिचानको पुर्नजन्म हो।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *