दार्चुला : गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा दार्चुलामा तीन दलका पार्टी कार्यालयमा ३९ लाख ३९ हजार आठ सय रुपैयाँ बराबरको क्षति भएको छ । सबैभन्दा बढी क्षति नेकपा एमालेको पार्टी कार्यालयमा भएको विवरण छ भने सबैभन्दा कम माओवादी केन्द्रको पार्टी कार्यालयमा भएको उल्लेख छ ।
नेकपा एमाले पार्टी कार्यालयमा १९ लाख ७६ हजार रुपैयाँ बराबरको क्षति विवरण पेश गरिएको छ । यस्तै नेपाली काँग्रेसको पार्टी कार्यालयमा १८ लाख ६४ हजार ८ सय र नेकपा माओवादी केन्द्र पार्टी कार्यालयमा ९९ हजारको क्षति भएको विवरण प्रहरी कार्यालयलाई बुझाइएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह सहभागी अन्तरक्रिया कार्यक्रममा आइतवार दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जिल्लाको वस्तुस्थितिबारे जानकारी गराउँने क्रममा जेनजी आन्दोलनमा दार्चुला जिल्लामा एमाले पार्टी कार्यालयमा १९ लाख ७६ हजार, नेपाली काँग्रेस पार्टी कार्यालयमा ६५ हजार र नेकपा माओवादी केन्द्र पार्टी कार्यालयमा ९९ हजारको क्षति भएको विवरण प्रस्तुत गरेका थिए । काँग्रेसको ६५ हजार मात्र क्षति विवरण देखिएपछि काँग्रेसले प्रश्न उठाएको छ ।
सोमवार पार्टी सभापति ललित सिंह बोहराले प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई काँग्रेस पार्टी कार्यालयमा भएको क्षतिको विवरण गलत प्रस्तुत गरिएकोमा तत्काल सच्याई सम्बन्धित निकाय र सरोकारवालालाई जानकारी गराउन माग गरेका छन् ।
यस विषयमा काँग्रेस पार्टी कार्यालयको क्षति विवरणमा त्रुटि देखिएकोले सम्बन्धित निकायबाट पुनः क्षतिको विवरण माग गरि सच्याइने प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
प्रहरी कार्यालयले पनि काँग्रेस पार्टी कार्यालयको क्षतिको विवरणमा नखुलेको देखाएको छ । पार्टीले क्षति भएको हप्ता दिन भित्रै क्षतिको विवरण प्रहरी कार्यालयमा बुझाएकोमा उक्त विवरण खुलाइएको छैन् । जेनजी आन्दोलनका क्रममा काँग्रेस पार्टी कार्यालयमा आगजनी गरिनुका साथै भौतिक संरचनामा तोडफोड र अन्य सामग्री तोडफोड गरिएका थिए ।
६५ हजार त नगद मात्रै क्षति (हराएको) भएको काँग्रेसले जनाएको छ । क्रियाशिल सदस्यताको उक्त रकम दराजमा रहेको उल्लेख छ । यस्तै अढाई सय बढी कुर्सि, टेबल, सोफा, झ्याल ढोकामा लगाइएको सिसा, कम्प्युटर, प्रिन्टर, ल्यापटप, दराज लगायतका सामानमा पूर्ण क्षति भएको नेपाली काँग्रेस पार्टी सभापति ललित सिंह बोहराले बताए ।
यस्तै एमाले पार्टी कार्यालयमा झ्यालढोका, फर्निचर, दराज, कुर्सी, टेबुलसहितका सामग्री तोडफोड गरिएको थियो । भने कागजातमा आगजनि गरिएको थियो । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा ब्यानर, फर्निचर तोडफोड गरिएका थिए ।
जेनजी आन्दोलनकै क्रममा जिल्लाको गोकुलेश्वर अस्पतालमा २० हजार रुपैयाँ बराबरको क्षति भएको विवरण छ । आन्दोलनको केहि दिनपछि दुहुँ गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालय, शैल्यशिखर नगरपालिका वडा नम्बर २ को कार्यालय र लेकम गाउँपालिका–५ स्थित रेडियो लोकदर्पण एफएममा पनि क्षति भएको प्रशासन कार्यालयले जनाएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

