दार्चुला : दार्चुलामा पूर्ण खोप अभियानका लागि अभिमुखीकरण गोष्ठी सम्पन्न गरिएको छ । मंगलवार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको आयोजनामा उक्त गोष्ठी सम्पन्न भएको हो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका निमित्त प्रमुख लाल बहादुर बोहराको अध्यक्षतामा रहेको गोष्ठी कार्यक्रममा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक डाक्टर नरेश प्रसाद जोशीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक डाक्टर नरेश प्रसाद जोशीले पशुहरुमा खोप लगाउनुको महत्व, पशुलाई महामारी रोगबाट बचाउन सरकारको भूमिका, प्रदेशमा पशु रोगको तथ्यांक र पशुजन्य उत्पादनका बारेमा कार्यपत्र प्रस्तुत गर्दै खोपलाई प्रभावकारी ढंगले कृषकको गोठसम्म पु¥याउने र उपयुक्त ढंगले खोप लगाउने तथा भ्याक्सिन सुरक्षित राख्ने र कोल्डचेन मेन्टेन कसरी गर्ने भन्ने विषयमा खोपकर्ताहरुलाई जानकारी गराउनुभएको थियो ।
अभिमुखिकरण कार्यक्रममा जिल्लाका नौ वटै स्थानीय तहका पशु सेवा शाखाका प्रमुख, स्थानीय खोपकर्ता, सरोकारवाला निकायको सहभागिता रहेको थियो । यसैबीच मंसिर २ गतेबाट जिल्लाभरी खोप अभियान कार्यक्रम सञ्चालन गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका निमित्त प्रमुख बोहराले बताए ।
उनका अनुसार दार्चुलामा यस आर्थिक वर्षभित्र गाईभैसीमा खोरेत रोगको लागि ५० हजार, लम्पी स्किन ३० हजार, भेडा बाख्रामा पिपिआर ९० हजार, खोरेत ४० हजार, ७ सय याक/चौरीगाईमा खोरेत र ६ सय बङ्गुरमा स्वाइन फिवरका लागि खोप लगाउने लक्ष्य राखिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा पिपिआर खोप ६६ हजार ५ सय, एफएमडी खोप १९ हजार ७ सय, एलएसडी खोप १७ हजार ५ सय र रेबिज रोगविरुद्धको खोप ४ सय ३३ गरी जम्मा १ लाख ३७ हजार खोप लगाइएको थियो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

