✍️मंगल सिह धामी
दाइ मलाई स्वदेशमै स्वाभिमान जोगाउन कति गार्हो छ । तपाईलाई परदेशमा अभिमान जोगाउन कत्ति गाह्रो होला । खैर मलाई पुरानो याद आयो स्कुल पढ्दाको तपाईले मलाई भनेर कक्षा चार को महेन्द्र माला भन्दा पुरानो ज्ञान मालाको किताब ल्याउनु भएको थियो नि त्यसमा विदुर नीति कण्ठस्थ गरेको थिए । स्कुल जानू अघिल्लो दिन नै आहा कति सुन्दर वान्की अनार झै कविताका हरफ ।
ज्ञानि विदुरको नीति बचन प्रष्फुटित भएको थियो । लेखिएको थियो गितामा एक्लै स्वादिलो भोजन नगर्नु, हामीले कसम अक्षरस पालना गर्यौ बाजे वा मैले, दाईले मैले मात्रै होइन हाम्रो तल्ला घरको तल्ला गरि अन्तरेको छोरा पानी मन्तरे र जोवनको छोरा जन्तरेले पनि कण्ठस्थ पार्यौ, हुबहु पालना गर्यौ । एक्लै कहिले पनि खाएनौ । एक्लो वीरलाई नफर्कने गरि धपायौ, बेघर गर्यौ । हामी अरु सबैले स्वादिलो खिर खायौ । मिलिजुली खायौ । भागलाई कन खायौ, कोहि भोको रहेनौ, कोहि नाङ्गो रहेनौ, रह्यो नाङ्गो भोको हाम्रो देश मात्र विचरा ।
महाज्ञानी गुरु विदुर ज्युले ज्ञान दिनु भएको थियो एक्लै कुनै बिषयको निर्णय नगर्नु – हामीले सर्वसम्मत निर्णय गर्यौ आमालाई बोक्सी बनायौ,काकालाई जार बनायौ,हामी सबै मिल्यौ ठुला घरको कौसीको डिल धारघरे धारेलाई आफ्नै बाउको रगत भनेर दियौं । एक्लै न स्वदेश गयौ न परदेश गयौ,न पुर्व न पश्चिम न त गयौं उत्तरगया न दक्षिणकी भागरथी गयौ । सबै मिलेर गयौ नियम संगत गयौ ,संविधान प्रदत्त गयौ । मौलिक अधिकारले गयौ एक्लै केहि निर्णय गरेनौं ।
एक्लै बाटो नहिड्नु भनेको ज्ञान आर्जन गरेका थियौं एक्लै कहिले हिडेनौ । कहिले भारी शीत हिड्यौ,कहिले घोडासित, ब्याउने घोडालाई भारी असजिलो हुन्छ भनेर बोझ कम गर्न आराम दिन प्राणी मात्रको दुख बिसाउन घोडाको भारी आफ्नो पिठमा बोकि घोडामा नै सवार भयौं । एक्लै कहिले हिडेनौ बाउको औला संगै उठ्यौ आमाको औला संगै खान सिक्यौ । एक्लै कहिले हिडिनै कहि पनि पुगेनौ ।
हामी जहाँ छौ त्यहिका त्यहीँ नै छौ ।
दाई तपाईलाई भाईको पत्र बोर लाग्छ होला । के पढ्छ,कति कुरा गर्छ भनेर । मलाई ज्ञानी विदुर ज्युको नीति कण्ठस्थ छ । आजपनी चालिसौ हिउँदका तापिला घाममा बसेर चुक खादै नितिका कुरा मुखाग्र गरेका छौं । धेरै जना सुतेको ठाउँमा एक्लै जाग्राम जागा नबस्नु भनेर । सबै सुतेको देखेर म पनि सुते,सुतेको मात्र के थिए,आखा यसो के लागेको थियो दाई पुर्खाको नासो,निशानी सिंहदरबार दनदनी जल्यो ।
आखामा कालोपट्टी बाधेकी हातमा खड्क र तराजु भिरेकी सेतो पहिरनकी देवीलाई सति पठाए । दुनियाँ सबैभन्दा ठूलो कि त राजा कि मेरो बाउ भन्ने ऐनलाई भुस गरेर देश परदेशको सबैभन्दा ठूलो विधान हो संविधान । संविधानको छलफल र खलबल हुने घरको जरै उखेली दिदै म सुते दाई ।
दाई म सुते,संसार सुत्यो,मेरो दाई परदेशमा सुत्यो म स्वदेशमा सुते,मेरो चौकिदार सुत्यो,सेना सुत्यो,पुलिस सुत्यो मेरो स्वदेश परदेश सुत्यो । अब बिहानी भो । कुखुरी बास्यो डाडामा घाम लाग्यो मिरमिरेको तारा झर्यो रात सिद्वियो दिन भयो ।
दाई हामी चुक्यौ । तल्ला घरे अन्तरेको छोरो भरखरै २५ बर्षे छ । के के न गर्छु भन्छ यो अग्लो डाडो काटेर बिहानै घाम लाग्ने गर्छु भन्छ । सात समुद्रको पानी एक मिसाउछु भन्छ। आकाशका तारा झार्छु भन्छ झलमल्ल भुमि सारा गर्छु भन्छ । न मेरो न तेरो न स्वदेश न परदेश भन्छ सम्म पार्छु भन्छ त्यो पुरानो दरबारलाई भत्काउछु भन्छ नयाँ दरबार जलाउछु भन्छ । दाई तपाई सोच,तपाई खोज,तपाई रोज तर बिहानी भो उठ बिउँझ र फर्की आउ दाइ आऊ ।
आखिर ढोकाको फलेक ले लाग्नै पर्छ आग्लो लगाउनै पर्छ । हामी पलस र माईनसले मिल्नैपर्छ अल्जेरा क्रस गर्नै पर्छ बरु जेब्राक्रस जे सुकै होस् ।
लेखक- ब्याँस गाउँपालिका अध्यक्ष मंगल सिह धामी ।
नोट : लेखक धामीले पछिल्लो समय देश राजनीतिको संक्रमणकालिन भुमरीमा गइरहेको बिषयमा स्थानीय देखि प्रदेश केन्द्रसम्मका नेताहरूको भुमिका, जेन्जी आन्दोलनको उपलब्धि, राजनीतिक संस्कार आदि विषयलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्दै देशको हितको लागि सबै बिचार एक ठाउँमा आउनुको विकल्प नरहेको सन्देश दिएका छन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

