नौगाडमा गाउँबस सेवा सञ्चालनमा

नौगाडमा गाउँबस सेवा सञ्चालनमा

दार्चुला : नौगाड गाउँपालिकाले गाउँबस सञ्चालनमा ल्याएको छ । गाउँकार्यपालिकाको बैठकबाट गाउँपालिकाबासीको यातायातमा सहजताका लागि गाउँबस संचालनमा ल्याउने निर्णय अनुरुप सोमवारदेखि बस संचालनमा ल्याइएको हो । नौगाड गाउँपालिकाका उपाध्यक्ष जगत सिंह ठगुन्नाले सोमवार एक कार्यक्रमका बीच रिबन काटेर गाउँबस सेवाको उद्घाटन गरेका छन् ।

गाउँपालिकाबासीको समस्या र आवश्यकतालाई मध्यनजर गर्दै गाउँबस सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष दलजीत सिंह धामीले बताए । गाउँसभाले कार्यालयको लागि सवारी साधन खरिद शीर्षकमा ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा उक्त रकमले गाउँ बस खरिद गरी संचालनमा ल्याएको उनले बताए । स्थानीय तहका पदाधिकारीका लागि तोकिएको सेवा सूविधा अन्तर्गत गाउँपालिका अध्यक्षलाई गाडीको सूविधा रहेकोमा उक्त सुविधा नलिई नागरिकलाई सर्वसुलभ यातायात सेवा प्रदान गर्न बस खरिद गरिएको अध्यक्ष धामीको भनाई छ ।

गाउँ बसमा विद्यार्थी, जेष्ठ नागरिक (७० देखि ८० वर्ष) लाई निर्धारित भाडा दरमा ५० देखि ८० प्रतिशत छुट दिइने तथा ८० वर्ष भन्दा माथिका नागरिक र क वर्गका अपाङ्गता भएकालाई निःशुल्क बस सेवा उपलब्ध गराइने गाउँपालिका अध्यक्ष धामीले बताए ।

गाउँ बसले अहिले गाउँपालिकाको सुकेखोलादेखि खार, खारदेखि होपरीगाडसम्म सेवा दिने जनाइएको छ । हाल संचालन हुने रुटका यात्रुहरुलाई गाउँ बसमा २० रुपैयाँदेखि १ सय ४० रुपैयाँसम्म भाडा शुल्क लाग्ने गाउँपालिकाले जनाएको छ ।

सुकेखोलादेखि खारसम्म १ सय ४० रुपैयाँ, सुकेखोलादेखि होपरीगाडसम्म १ सय रुपैयाँ, खेडादेखि होपरीगाडसम्म ८० रुपैयाँ, मसनेबगरदेखि होपरीगाडसम्म ६० रुपैयाँ, चिउरेबगरदेखि होपरीगाडसम्म ४० रुपैयाँ, सौकेबगरदेखि होपरीगाडसम्म २० रुपैयाँ, खारदेखि होपरीगाडसम्म ४० रुपैयाँ र जामिरदेखि होपरीगाडसम्म २० रुपैयाँ भाडादर कायम गरिएको छ । गाउँबस सेवा बिहानी सिफ्ट र दिउँसोको सिफ्टमा सञ्चालन गरिएको छ । ७ गाउँपालिका रहेको दार्चुलामा नौगाड गाउँपालिका गाउँबस सञ्चालन गर्ने पहिलो गाउँपालिका हो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *