दार्चुला : भोलिदेखि विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण कार्यक्रम सञ्चालन गर्न विद्यालयहरुलाई ब्याँस गाउँपालिकाले अनुरोध गरेको छ । बुधवार एक सूचना जारी गर्दै शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको हो ।
गाउँपालिका अध्यक्ष मंगल सिंह धामी र उपाध्यक्ष विनोद सिंह कुँवरद्धारा हस्ताक्षरित सूचनामा चैत २० गतेदेखि काठमाडौं केन्द्रीत शिक्षक आन्दोलनमा ऐक्यवद्धता रहेको जनाएको विद्यार्थीको भविष्यप्रति चिन्तित हुन आग्रहसहित विद्यार्थी भर्ना लगायतका अभियान सञ्चालन गर्न भनेको छ ।
शिक्षक आन्दोलनले शैक्षिक गतिविधि सुचारु नहुँदा विद्यार्थी र अभिभावकको गुनासो बढेको, लामो समयदेखि विद्यार्थी घरमै रहँदा कुलतामा फस्ने र मानसिक रुपमासमेत असर पार्ने भएकाले आन्दोलनमा सहभागिबाहेक शिक्षक कर्मचारीहरुलाई भोलिदेखि नै शैक्षिक गतिविधि सञ्चालन गर्न गाउँपालिकाले आग्रह गरेको छ । बैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान सन्चालन हुनुपर्नेमा शिक्षक आन्दोलनका कारण अभियान प्रभावित भएको छ ।
‘नेपाल शिक्षक महासंघले यही मिति २०८१।१२।२० गते देखि विभिन्न मागहरु राख्दै काठमाडौँ केन्द्रित शैक्षिक आन्दोलनमा ब्याँस गाउँपालिकाको पूर्ण समर्थन रहेको कुरा जानकारी गराउछौँ । शिक्षक कर्मचारीहरुका जायज मागहरु पूरा गर्नका लागि यही मिति २०८२।०१।१२ गते बस्ने संसद अधिवेशनबाट शिक्षा ऐन जारी गर्न तथा शिक्षा ऐन जारी हुने विश्वसनीय आधार ल्याई शिक्षक कर्मचारीहरुलाई काममा फर्काउनसमेत सरकारलाई विनम्रताका साथ आग्रह गर्दछौं ।
विगत बाईस दिनदेखि शैक्षिक आम हड्तालबाट नयाँ शैक्षिकसत्रमा विद्यार्थी भर्ना कार्यक्रम, पालिका स्तरीय तथा विद्यालय स्तरीय ग्रेडवृद्धि परीक्षा लगायत शैक्षिक गतिविधिहरु सुचारु नहुँदा सामुदायिक विद्यालयहरुका अभिभावक एवम् विद्यार्थीहरुको जनगुनासो बढ्नुका साथै लामो समयसम्म विद्यार्थीहरु घरमा रहदा कुलतमा फस्ने तथा विद्यार्थीहरुमा मानसिक रुपमासमेत असर पर्ने देखिन्छ ।
जसको प्रत्यक्ष असर सामुदायिक विद्यालयहरुमा पर्ने देखिन्छ । तसर्थ ब्याँस गाउँपालिकाको भौगोलिक परिवेश अनुसार आम ब्याँसबासी अभिभावकहरु तथा विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गर्दै सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई पलायन हुनबाट रोक्न तथा सामुदायिक विद्यालयहरुमै टिकाइ राख्नका लागि काठमाडौँ केन्द्रित शैक्षिक आन्दोलनमा सहभागी शिक्षक तथा कर्मचारीहरु बाहेकका शिक्षक तथा कर्मचारीहरुले यही मिति २०८२।०१।११ गते देखि विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणका कार्यक्रमहरु सञ्चालन गर्न गराउन हुन अनुरोध गरिन्छ ।’
यो खबर तपाईंलाई कस्तो लाग्यो?