बैतडी : नेपाली कांग्रेस (देउवा पक्ष) को १५औँ नियमित महाधिवेशनअन्तर्गत बैतडी जिल्लाको १०औँ नियमित जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा प्रदेश सभा क्षेत्र ‘क’ र ‘ख’ का नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको जनाइएको छ।
अधिवेशनबाट जिल्ला सभापतिमा वीरबहादुर विष्ट चयन भएका छन्। त्यस्तै, उपसभापतिमा रमेश दत्त पाण्डेय र रमेश सिंह भण्डारी, सचिवमा लालबहादुर चन्द र महेश दत्त भट्ट तथा सहसचिवमा वीरबहादुर गडाल र भानदेव भट्ट चयन भएका छन्।
अधिवेशनबाट नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवं युवा समाजसेवी केशवबहादुर क्षेत्री महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्। विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका क्षेत्री बाल्यकालदेखि नै नेतृत्व र समाजसेवाप्रति रुचि राख्दै आएका छन्।
नेपाल विद्यार्थी संघमा आबद्ध भएर संगठन विस्तार तथा विद्यार्थीका गतिविधिमा सक्रिय रहँदै आएका क्षेत्रीले बैतडीका विभिन्न विद्यालय तथा कलेजमा संगठन विस्तारका गतिविधिमा भूमिका निर्वाह गरेको बताइएको छ। विभिन्न राजनीतिक दल तथा विचार समूहसँग सहकार्य र समन्वय गर्न सक्ने क्षमता, इमानदारी र शालीन व्यवहारका कारण उनले आफ्नो छुट्टै पहिचान बनाउँदै आएका छन्।
महाधिवेशन प्रतिनिधिमा चयन भएपछि क्षेत्रीले आगामी दिनमा नेपाली कांग्रेसको संगठनलाई थप सशक्त, एकताबद्ध र जनमुखी बनाउन इमानदारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले जिल्ला अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेका छन्।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

