दार्चुला : सुदूरपश्चिम प्रदेशकै अग्लो हिमाल अपिहिमालको बेसक्याम्पमा योग ध्यान शिविर सञ्चालन गरिने भएको छ ।दार्चुलाको अपिहिमाल गाउँपालिकामा पर्ने चार हजार मिटर उचाइको अपिहिमाल बेसक्याम्पमा पहिलोपटक योग ध्यान शिविर सञ्चालन गरिन लागिएको हो ।
पर्यटन प्रवर्द्धनका माध्यमबाट यो क्षेत्रलाई आध्यात्मिक र पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यले योग शिविर आयोजना गर्न लागिएको अपिहिमाल गाउँपालिका अध्यक्ष भगत सिंह ठेकरे बोहराले जानकारी दिनुभयो ।
शिविर जेठ १६ गते अपिहिमाल बेसक्याम्पमा आयोजना गरिने उहाँले बताउनुभयो । यस्तै जेठ १२ र १३ गते गाउँपालिकामा विविध जागरण कार्यक्रमहरूमार्फत योग, ध्यान र स्वस्थ जीवनशैलीको महत्व दर्शाउने कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।
योग ध्यान शिविरमा पालिकाका जनप्रतिनिधि, स्थानीय बासिन्दा, पर्यटक र अन्य इच्छुक व्यक्तिहरूको सहभागिता रहने बताइएको छ । शिविरमा प्रशिक्षकका रूपमा योग गुरु तथा सञ्चारकर्मी सिमोन न्यौपाने रहने छन् ।
यस अवसरमा ‘स्वस्थ जीवन, खुशी जीवन र क्षमतावृद्धि’ विषयमा विशेष कार्यक्रम पनि आयोजना गरिनेछ र जसलाई नेपाल सरकार सह-सचिव राजन पौडेल, योग प्रशिक्षक न्यौपाने र अध्यक्ष बोहराले सञ्चालन गर्नेछन् । पछिल्लो समय अपिहिमाल आन्तरिक तथा बिदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ । अहिले दैनिक जसो आन्तरिक पर्यटकहरु अपिहिमाल बेसक्याम्प घुमफिर गर्नेगर्छन् ।
अपिहिमाल गाउँपालिका पर्ने अपिहिमालको उचाई ७,१३२ मिटर रहेको छ । अपिहिमाल पालिकाका अध्यक्ष बोहराले अपिहिमाल क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि विभिन्न योजना बनाइएको बताउनुभयो ।
फोटो तस्वीर : हिमालय भट्ट
यो खबर तपाईंलाई कस्तो लाग्यो?