खलंगाका धारामा धमिलो पानी, किन हुदैछ खेलबाड जानीजानी

खलंगाका धारामा धमिलो पानी, किन हुदैछ खेलबाड जानीजानी


दार्चुला : जिल्ला सदरमुकाम खलंगामा वितरण भएको खानेपानीका धाराहरुमा विगत दुई हप्तादेखि धमिलो पानी आइरहेको छ । खलंगा खानेपानी ढल तथा सरसफाई उपभोक्ता समिति दार्चुला (महाकाली नगरपालिका-४ र ५ ) ले वितरण गरेको पानी धमिलो आइरहेकोमा यहाँका उपभोक्ताहरु आजित छन् ।

पानी पिउन योग्य नभएको भन्दै विकल्पमा अहिले उपभोक्ताहरु अन्य मूलको पानी खोज्नसमेत थालेका छन् । त्यहाँ अहिले पानी जोहो गर्नेको भीड लाग्ने गरेको छ । बर्खाको समयमा मुहान तथा खोलानालामा पानी बढेका कारण पानी धमिलो आइरहेको उपभोक्ता समितिले जनाएको छ ।

दुषित पानी खुवाएर नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलबाड भइरहेको भन्दै उपभोक्ता समितिप्रति विभिन्न टिकाटिप्पणी भइरहेका छन् । यसको नैतिक जिम्मेवारी भने समितिले लिएको छैन् । उपभोक्ता समितिमाथि यसअघि पनि पानी अनियमित हुने, बढी महशुल असुल्ने, कमसल खाले मिटर जडान गरेर ठगेको आरोप थिए ।

खानेपानी लाइनको नियमित अनुगमन/ निरीक्षण, नियमित पानी आपूर्ति र स्वच्छ पानीको माग सरोकारवाला र स्थानीयहरुको छ । तर, यसप्रति समिति गैरजिम्मेवार छ ।
सहरी खानेपानी तथा सरसफाई आयोजनाअन्तरगत निर्माण भएको यो खानेपानी आयोजनाको डुङरीमा फिल्टर राखिएका छन् । तर, तीे फिल्टरले अहिले प्रभावकारी काम गरिरहेको छैन् । गराकु खोलाको पानी सिधै ट्याङ्कीमा हाल्ने गरिएकोमा चौतर्फी टिकाटिप्पणी र विरोध भएपछि पछिल्लो समय मुहानको पानी छोडिएको छ ।

यस्तै धारामा धमिलो पानी आउन थालेपछि असार १५ गते प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षतामा सर्वपक्षीय बैठक बसी दूषित पानीको समस्या समाधानका गर्न भनियो र तत्कालै पानी मुहानको स्थलगत निरीक्षण र पानीको शुद्धता जाँच गर्ने निर्णय बमोजिम स्वास्थ्य कार्यालय, खानेपानी उपभोक्ता समिति र अन्य सरोकारवालाहरु त्यसमा खटिए । पानी शुद्धताको जाँच भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

महाकाली नगरपालिका–३ स्थितको गराकु खोलाको पानीलाई ट्यांकीमा झारेर वितरण हुने गरेको छ । यस्तै पानीको मूहान भएको क्षेत्रमा सडक खनिदा पनि पानी दूषितको कारण बनेको छ । यति मात्रै होइन् मूलमा फोहर सडेगलेका वस्तु भेटिने समेत गरेका छन् । यसमा सरोकारवाला पक्षको ध्यान छ्रैन् ।

केहि दिन अघि मात्रै मूल नजिक सडेगलेको वस्तु रहेको भीडिओ सार्वजनिक हुँदा एक किसिमको खैलाबैला नै मच्चियो । धेरैले त्यो पानी नै खान छोडे । कयौँले फिल्टर र मिनिरल वाटरको प्रयोग गर्न थाले । तर, त्यो भीडीओ एक महिना पुरानो रहेछ । त्यो थाहा पाएपछि अहिले उपभोक्ताले पानी ‘चपाएका’ छन् । यसले पनि लापरवाहीकोे पराकाष्ट छल्किएको छ ।

बर्खा सुरु भएकोले पानीका मुहान दूषित हुने र जसका कारण दूषित पानी पिउँदा विभिन्न रोग फैलने कुरालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीहरुले पानी तताएर र फिल्टर गरेर मात्रै पिउन आग्रह  गरेका छन् । 

दार्चुलामा सहरी खानेपानी तथा सरसफाई आयोजनाअन्तर्गत आव २०७७/७८ मा खानेपानी आयोजनाको निर्माण कार्य थालिएको थियो ।  खलंगा सहरी खानेपानी तथा सरसफाई आयोजना निमार्णको लागत २९ करोड हो । यसको निर्माणको जिम्मेवारी ग्वालेक निर्माण सेवा संग छ । डेढ वर्षमा निर्माण कार्य सक्ने गरि २०७७ सम्झौता गरिएकोमा आयोजनाको निर्माण कार्य अहिलेसम्म सम्झौता अनुसार सकिएर हस्तान्तरण हुन सकेको छैन् ।

आयोजनाबाट २२ हजार बढी जनसंख्यालाई लाभ पुग्ने गरि नगरबासीलाई २४ सै घण्टा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य थियो । एसियाली विकास बैंकले कुल लागतको ७० प्रतिशत, २५ प्रतिशत नगर विकास कोषको ऋण लगानी रहेको छ ।
यस्तै निर्माण गरिएका खानेपानी आयोजनाका सबै संरचनाहरु नगरपालिकाको स्वामित्तमा रहने, सेवा प्रवाहको नियमन तथा अनुगमन गर्ने दायित्व महाकाली नगरपालिकाको हुने सम्झौतामा उल्लेख छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *