दार्चुला : मालिकार्जुन गाउँपालिकाले योग शिविर र जात्रा मेलामा १० लाख बढी खर्च गरेको छ । पालिकाले विभिन्न जात्रा मेला तथा शिविर सञ्चालन गरी १० लाख ७ हजार १५३ रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन अनुसार मालिकार्जुन आध्यात्मिक सम्मेलन र योग आवासीय योग प्रशिक्षण शिविरमा ५ लाख ४५ हजार २८८ रुपैयाँ खर्च भएको छ । यस्तै जात्रा मेला व्यवस्थापनमा ४ लाख ६१ हजार ८६५ रुपैयाँ खर्च भएको छ । लेखापरीक्षण प्रतिवेदनले जनाएअनुसार उक्त खर्चमध्ये खाना खाजाका विभिन्न होटलका बील र बैठक भत्ताको रकम समावेश गरिएको छ ।
बैठक भत्तामा २ लाख
मालिकार्जुन गाउँपालिकाले बैठक भत्तामा २ लाख बढी खर्च गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा पालिकाले गाउँसभा बैठक बसे वापत २ लाख २ हजार भत्ता भुक्तानी गरेको हो । १० औँ गाउँसभामामा उपस्थित ३९ जना पदाधिकारीहरुलाई बैठक भत्ता वापत ७८ हजार भुक्तान भएको छ ।
२ वटा बैठक भत्ता वापत उक्त रकम भुक्तान भएको पालिकाले जनाएकोमा १ दिन मात्रै बैठक बसेको देखिएको मलेप प्रतिवेदनले जनाएको छ । यस्तै बैठक भत्ताको प्रतिदिन १ हजार रुपैयाँ भुक्तानी हुनुपर्नेमा १ हजार ५ सय भुक्तानी गरेर ७८ हजार बढी भुक्तानी गरिएको हो ।
यस्तै ११ औँ गाउँसभामा उपस्थित ४२ जना पदाधिकारीकालाई बैठक भत्ता वापत ८४ हजार भुक्तान गरिएको छ भने १२ औँ गाउँसभामा उपस्थित ४० जना पदाधिकारीहरुलाई २ वटा बैठक भत्ता वापत ४० हजार भुक्तान गरिएको छ ।
स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा ऐन, २०७५ मा गाउँपालिकाका पदाधिकारीहरुलाई बैठक भत्ता वापत प्रति बैठक १ हजारका दरले भुक्तानी गर्न सकिने व्यवस्था गरेकोमा पालिकाले विभिन्न बैठकहरुको बढी भुक्तानी गरेकोले २ लाख २ हजार रकम असुल गर्नुपर्ने महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।
यस्तै मालिकार्जुन गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ म २२ लाख १ हजार ४ सय रुपैयाँ गाडी भाडामा खर्च गरेको छ भने सवारी साधनको इन्धन तथा मर्मत सम्भारमा ७ लाख ५४ हजार ४३३ रुपैयाँ खर्च गरेको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?