शिक्षा विधेयकमा असहमति जनाउँदै प्याब्सनको ज्ञापन

शिक्षा विधेयकमा असहमति जनाउँदै प्याब्सनको ज्ञापन

दार्चुला : प्रस्तावित शिक्षा विधेयकका केही प्रावधानलाई अस्वीकार गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले सम्बन्धित सरोकारवाला कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । दार्चुलामा प्याब्सनका अध्यक्ष बिक्रम सिंह रैखोलाको अगुवाईमा प्याब्सन पदाधिकारीहरुले स्थानीय पालिका, जिल्ला प्रशासन र शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयमा ज्ञापन बुझाएका हुन् ।

साउन २७ गते केन्द्रीय कार्यालयमा बसेको प्याब्सन र एन प्याब्सनको संयुक्त बैठकको निर्णयअनुसार साउन २९ गते पालिका प्रमुख र शिक्षा शाखा प्रमुखमार्फत ज्ञापन पत्र बुझाउने अभियान सुरू गरिएको थियो । त्यसपछि साउन ३० गते जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा विभिन्न मागसहित ज्ञापन बुझाइएको हो ।

प्याब्सनले शिक्षा विधेयकबाट ‘निजी विद्यालयलाई गैरनाफामूलक बनाइने’ भन्ने वाक्यांश हटाउनुपर्ने माग गरेको छ । यस्तै पूर्ण छात्रवृत्ति भन्ने शब्दावली हटाउनुपर्ने, सम्पूर्ण विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनुपर्ने मागसहित ज्ञापन बुझाइएको प्याब्सन दार्चुलाका अध्यक्ष बिक्रम सिंह रैखोलाले जानकारी दिए ।

प्याब्सन केन्द्रीय समितिले तोकिएको समयभित्र सचेतना कार्यक्रम, ज्ञापन पत्र बुझाउने र अन्तरक्रियाबाट समाधान ननिस्किए विद्यालय बन्दसम्मका कठोर कदम चालिने बताएको छ ।

प्याब्सनले भाद्र १ गते मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालय, भाद्र २ गते आफ्ना निर्वाचन क्षेत्रका संघीय सांसदहरूलाई ज्ञापन पत्र बुझाउने, भाद्र ३ गतेदेखि ५ गतेसम्म आन्दोलन तयारी बैठक र भाद्र ६ र ७ गते केन्द्र तथा प्रदेशस्तरीय सरोकारवालासँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय गरेको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *