जेलबाट भागेका ‘कुख्यात’ कैदी कुँवर पक्राउ

जेलबाट भागेका ‘कुख्यात’ कैदी कुँवर पक्राउ


दार्चुला : दार्चुला कारागारबाट भागेका कैदी उमेश सिंह कुँवर पक्राउ परेका छन् । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा राति कारागारबाट भागेर फरार रहेका महाकाली नगरपालिका–१ का कुँवर मंगलवार राति पक्राउ परेका हुन् ।

२४ वर्षीय कुँवर जबरजस्ती करणी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्धामा कारागारमा कैद भुक्तान गरिरहेका थिए । कुँवर फरार भएको २९ दिनपछि पक्राउ परेका हुन् ।

घरमा लुकेर बसेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक बिक्रम बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाबाट सशस्त्र प्रहरी निरीक्षक महेन्द्र कुमार बमको कमाण्डमा खटि गएको सशस्त्र प्रहरीको संयुक्त टोलीले फरार कैदी कुँवरलाई रातिको समयमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिए ।

उनीमाथि कर्तव्य ज्यान मुद्दामा २५ वर्ष, जवरजस्तीकरणी मुद्दामा २५ वर्ष र ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष गरी ५२ वर्षको कैद सजाय भुक्तान छ । कुँवरले आफ्नी श्रीमतीलाई बन्धक बनाएर कुट्ने, यातना दिने, जवरजस्तीकरणी गर्ने र ज्यान मार्नेसम्म प्रयत्न गरेका थिए । परिवारबाट जाहेरी परेपछि ७ माघ २०८० मा उनलाई पक्रन जाँदा दुई प्रहरीमाथि कुँवरले चक्कु प्रहार गरी घाइते बनाएर भागेका थिए । फरार कुँवरलाई प्रहरीले फागुन २१ मा पक्राउ गर्न सफल भएको थियो । अनुसन्धानका लागि हिरासतमा रहेका कुँवरले फागुन २८ गते भाग्न खोज्दा एक प्रहरी जवानको ज्यान लिए । कुँवर भाग्न खोज्दा समात्न पछि दौडेका जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान सोहन चौधरी भीरबाट खस्दा ज्यान गएको थियो ।

केहि समय पछि कुँवरकी श्रीमतीले पनि महाकाली नदीमा हाम फालेर आत्महत्या गरेकी थिइन् ।

यस्तै गत भदौ २४ गते कारागारबाट भागेका कुँवरलाई लिएर गाउँमा सन्त्रास फैलिएको थियो । प्रहरीको निरन्तर निगरानीका कारण उनी पक्रन सफल भएका छन् । यस्तै अन्य ७ जना अझै फरार छन् । फरार कैदीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *