सीमा जोडिएका चार पालिकाकाको अन्तर पालिका समन्वय बैठक

सीमा जोडिएका चार पालिकाकाको अन्तर पालिका समन्वय बैठक

दार्चुला : सदरमुकाम खलंगामा चार पालिकाको समन्वय बैठक सम्पन्न भएको छ । शुक्रवार ब्याँस गाउँपालिकाको आयोजनामा अपिहिमाल गाउँपालिका, नौगाड गाउँपालिका र दुहुँ गाउँपालिकाबीच अन्तर पालिका समन्वय बैठक सम्पन्न भएको हो । सीमा जोडिएका चार पालिकाका बीच एक आपसमा समन्वय र सहकार्य गर्ने उद्धेश्यले अन्तर पालिका समन्वय बैठक आयोजना गरिएको ब्याँस गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले जानकारी दिए ।

बैठकमा पालिकाहरु बीच समन्वय र सहकार्य गर्ने, सीमा क्षेत्रमा विकसित सडकहरुलाई निर्माण सम्पन्न गर्ने, पर्यटन पूर्वाधार र पदमार्ग निर्माणमा काम गर्ने बारे सहमति भएको छ । पूर्ण रुपमा बन्द रहेको ब्याँस गाउँपालिकाको राप्ता–जैती–कोलाङ र अपिहिमाल गाउँपालिकाको सितोला जोड्ने परम्परागत बाटो पुर्नःनिर्माणका लागि ब्याँस गाउँपालिका र अपिहिमाल गाउँपालिकाको सहकार्यमा आर्थिक स्रोत जुटाएर पुर्ननिर्माण गरी आर्थिक, सामाजिक र पर्यटन क्षेत्रको विकास तथा विस्तारमा जोड दिने निर्णय गरिएको छ ।

धार्मिक दृष्ट्रिकोणले महत्वपूर्ण रहेका ब्याँस गाउँपालिकाको सिना, तातोपानी दुहुँ गाउँपालिकाको सिद्धटोपी र नौगाड गाउँपालिकाको नागेश्वर धामको दर्शनका लागि पर्यटन पूर्वाधारको विकासमा समन्वय र सहकार्य गर्ने तथा दुहुँको श्रीबगड तपोवन, भाडी र ब्याँसको मालिकार्जुन (धुरामाण्डौ), रानीकोट्टा लगायतका धार्मिक स्थलहरुको प्रचारप्रसार र विकासमा सहकार्य गर्ने निर्णय बैठकले गरेको छ ।

यस्तै ब्याँस गाउँपालिका र नौगाड गाउँपालिका जोड्ने दल्लेख–नागु–सिना सडक नौगाड गाउँपालिकाबाट निर्माण भइरहेको हुँदा ब्याँस गाउँपालिका–३ सिनाबाट समेत उक्त सडक पूर्वाधार निर्माणका लागि पहल गर्ने, व्याँस गाउँपालिकालाई दार्चुला सदरमुकाम खलंगासंग जोड्ने छोटो मार्गका रुपमा रहेको निर्माणाधिन तिमुरपाटा–हुती–धौलाकोट–मडगाउँ–माल सडक खण्ड निर्माणको क्रममा जमिन तथा कृषि उपज क्षति भएका नागरिकहरुलाई कृषि उपजको मुल्याङ्कन अनुसार ब्याँस गाउँपालिकाले राहत स्वरुप रकम उपलब्ध गराउने तथा कुनै विवाद उत्पन्न भएमा दुबै गाउँपालिकाका जनप्रतिनिधिहरुले तदारुकताका साथ समाधान गर्ने÷गराउने निर्णय गरिएको छ ।

साथै ब्याँस गाउँपालिका र दुहुँ गाउँपालिकाको सीमाना जोडिएको तङ्ले विजयपुर क्षेत्रमा दुहु–ब्याँस मिलन केन्द्रको पूर्वाधार निर्माणका लागि दुबै पालिकाले आवश्यक स्रोत व्यवस्थापन गर्ने निर्णय भएको छ ।

बैठकमा ब्याँस गाउँपालिका, दुहुँ गाउँपालिका, नौगाड गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । तर, अपिहिमाल गाउँपालिकाको उपस्थिति हुन सकेन । ब्याँस गाउँपालिका वडा नम्बर १ को कार्यालयमा आयोजना गरिएको अन्तर पालिका बैठक ब्याँस गाउँपालिका अध्यक्ष मंगल सिंह धामीको अध्यक्षता एवं जिल्ला समन्वय समिति प्रमुख महादेव बडूको प्रमुख आतिथ्यतामा बसेको हो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *