बालबालिकामा लगानी वृद्धि गर्न ९ वटै स्थानीय तहको प्रतिबद्धता

बालबालिकामा लगानी वृद्धि गर्न ९ वटै स्थानीय तहको प्रतिबद्धता

दार्चुला : दार्चुलाका नौ वटै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा बालबालिकाका क्षेत्रमा लगानी वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलवार सामुदायिक विकास केन्द्र (सीडीसी) डोटीको आयोजना, सेभ द चिल्ड्रेनको सहयोग तथा जिल्ला समन्वय समिति दार्चुलाको समन्वयमा आयोजित “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा मार्मा गाउँपालिकाका अध्यक्ष जमन सिंह धामीले बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै योजना तथा बजेट निर्माण प्रक्रियामा उनीहरूको भूमिका बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले शिक्षा, स्वास्थ्य लगायत बालबालिकासँग सम्बन्धित विभिन्न क्षेत्रमा बजेट विनियोजन हुँदै आए पनि बाल भेलामार्फत योजना छनौट र बाल सहभागिताको विषयमा केही कमी भएको स्वीकार गरे ।

कार्यक्रममा बोल्दै मालिकार्जुन गाउँपालिकाका उपाध्यक्ष कल्याण सिंह धामीले बालबालिकाको क्षेत्रमा आफ्नो पालिकाले निरन्तर लगानी गर्दै आएको बताए । उनले हाल स्थानीय तहहरू आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा रहेको अवस्थामा आयोजित यस्तो छलफल समयानुकूल र प्रभावकारी भएको बताए । साथै, मालिकार्जुन गाउँपालिका बालविवाहमुक्त पालिका घोषणा भइसकेको उल्लेख गर्दै उक्त उपलब्धिलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्न पालिका प्रतिबद्ध रहेको बताए ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडूले छलफलमा उठाइएका बालबालिकासम्बन्धी सवालहरूको सम्बोधनका लागि सबै स्थानीय तहले साझा पहल गर्नुपर्नेमा जोड दिए । बजेट निर्माणको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमले बालबालिकाका मुद्दालाई प्राथमिकतामा राख्न थप सहयोग पुग्ने विश्वास उनको थियो । सामुदायिक विकास केन्द्र डोटीका कार्यकारी निर्देशक हेम राज जोशीले नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बाल अधिकार तथा बालकल्याणका क्षेत्रमा गरेका प्रतिबद्धता, स्थानीय तहले बालबालिकामा लगानी गर्नुपर्ने आवश्यकता तथा लगानीका प्राथमिकता क्षेत्रबारे सहभागीहरूलाई जानकारी गराएका थिए ।

कार्यक्रममा दार्चुला जिल्ला बाल सञ्जालका अध्यक्ष तथा सुदूरपश्चिम प्रदेश बाल सञ्जालका सदस्य राजेश धामीले जिल्लाका बालबालिकाले भोगिरहेका विविध समस्या तथा स्थानीय तहले गर्न सक्ने सहयोगका क्षेत्रबारे प्रस्तुति दिएका थिए । उनले दार्चुलामा लागूपदार्थ दुव्र्यसनको समस्या बढ्दै गएको उल्लेख गर्दै यसको नियन्त्रण तथा न्यूनीकरणका लागि सबै स्थानीय तहले विशेष ध्यान दिनुपर्ने बताए । सो अवसरमा अध्यक्ष धामीले बालबालिकाका माग तथा सुझाव समेटिएको ज्ञापनपत्र स्थानीय तहका जनप्रतिनिधिलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा जिल्लाका नौवटै स्थानीय तहका प्रमुख÷उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, बाल कल्याण अधिकारी, बाल सञ्जालका प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले बालमैत्री स्थानीय शासन, बाल अधिकार संरक्षण तथा बालबालिकाको समग्र विकासका लागि पर्याप्त बजेट विनियोजन र प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएका थिए ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *