दार्चुला : महाकाली नगरपालिकामा २५ जनालाई समुदाय विपद् स्वयंमसेवक तालिम दिइएको छ । महाकाली नगरपालिकाको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाको सहकार्यमा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम दिइएको हो । जेठ ११ गतेदेखि सुरु भएको उक्त तालिमको बिहीवार एक कार्यक्रमका बीच समापन गरिएको छ ।
विपद्जन्य जोखिमलाई ध्यानमा राख्दै नगरपालिकाले समुदाय विपद् स्वयंसेवक आधारभुत तालिम दिएको विपद् व्यवस्थापन सम्पर्क व्यक्ति नरेन्द्र सिंह ठगुन्नाले जानकारी दिए । तालिममा नगरपालिकाका ९ वटै वडाबाट २÷२ जना, नगर प्रहरीका ५ जना तथा विपद् व्यवस्थापन शाखाबाट २ जना गरी २५ जना सहभागी थिए ।
तालिमको प्रशिक्षण सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका सशस्त्र प्रहरी निरीक्षक दीपक राज बडूको नेतृत्वमा ६ जनाले दिएको हो । तालिममा बाढी पहिरो, आगलागी जस्ता विपद्जन्य घटना र घटनापश्चातका उद्धार तथा राहतका कार्य बारे प्रशिक्षण दिनुका साथै कृतिम घटना अभ्यास समेत गराइएको थियो ।
महाकाली नगरपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति ठगुन्नाका अनुसार जलवायु उत्थानशील तथा विपद् व्यवस्थापन योजना समेत तयार पारेर कार्यान्वयनको चरणमा रहेको र नगरभित्र रहेका जोखिमयुक्त बस्तीहरूको पहिचानका साथै जोखिम नक्साङ्कन कार्य भएकाले बाढी, पहिरो लगायतका प्राकृतिक विपद् व्यवस्थापनका लागि आवश्यक उद्धार सामग्रीहरु तयारी अवस्थामा राखिएको छ ।
महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी ठगुन्नाको अध्यक्षता रहेको तालिम समापन कार्यक्रममा नगरप्रमुख नर सिंह चैसिरको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा नगर उपप्रमुख दुर्गा कुमारी खत्री बिष्ट, प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, चार वटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, स्थानीय जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?