दार्चुला : दार्चुलाको लेकम गाउँपालिकामा घुम्ती सेवा सञ्चालन गरी नागरिकताको प्रतिलिपी र राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन १२ गतेदेखि साउन १७ गतेसम्म सेवा सञ्चालन गरि नागरिकताको प्रतिलिपि र राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराएको हो ।

जेष्ठ नागरिक, अशक्त, असहाय र एकल महिला/पुरुषको सहजताका लागि स्थानीय तहको समन्वय र सहयोगमा गाउँघरमै गएर सेवा दिइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीले जानकारी दिए ।

लेकममा ६ दिनसम्म सञ्चालन गरिएको घुम्ती सेवामा ५९ पुरुष र ८२ महिला गरी कूल १ सय ४१ जनाको नागरिकताको प्रतिलिपि वितरण गर्नुका साथै ७२ पुरुष र १२५ जना महिला गरी जम्मा १९७ जनाको राष्ट्रिय परिचय पत्र विवरण दर्ता गरिएको सहायक प्रजिअ धामीले बताए । लेकमका ६ वटै वडाका सेवाग्राहीलाई गाउँघरमै सेवा दिइएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामी, नागरिकता शाखाका कम्प्युटर अपरेटर राम बहादुर गुरुङ, राष्ट्रिय परिचयपत्र शाखाका कम्प्युटर अपरेटर अशोक भट्ट, सहयोगी हरिश प्रसाद जोशी र महेश भट्टले सेवा दिएका हुन् । यसअघि जिल्लाको व्याँस गाउँपालिकामा पनि घुम्ती सेवा सञ्चालन गरी सेवा दिइएको थियो ।


यो खबर तपाईंलाई कस्तो लाग्यो?