ब्याँस गाउँपालिकाले घरेलु मदिराको उत्पादन र विक्रीवितरण बन्द गर्ने

ब्याँस गाउँपालिकाले घरेलु मदिराको उत्पादन र विक्रीवितरण बन्द गर्ने

दार्चुला : ब्याँस गाउँपालिकाले घरेलु मदिराको उत्पादन तथा विक्रीवितरण बन्द गर्ने भएको छ । साउन ९ गते बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकामा घरेलु मदिराको उत्पादन, ओसारपसार र विक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चन्द्र सिंह कुँवरले जानकारी दिए ।

उक्त बैठकले मदिरा सेवन गरी होहल्ला र हुलहुज्जत गर्नेलाई जरिवाना गर्ने पनि निर्णय गरेको छ । घरेलु मदिराको उत्पादन गरेमा ५ हजार जरिवाना तोकिएको छ भने ओसारपसार गरेमा ३ हजार, विक्रीवितरण गरेमा २ हजार र मदिरा सेवन गरी हुल हुज्जत गरे १ हजार पाँच सय दण्ड जरिवाना गरिएको प्रमुख प्रशासकीय अधिकृत कुँवरले बताए ।

सार्वजनिक पद धारण गरेका व्यक्तिले उक्त कार्य गरेमा तोकिएको भन्दा दोब्बर जरिवाना गरिने जनाइएको छ । यस्तै दण्ड जरिवाना वापत संकलन रकमको ४० प्रतिशत रकम प्रोत्साहन स्वरुप सम्बन्धित प्रहरी कार्यालयलाई प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

ब्याँस गाउँपालिका वडा नम्बर १ र २ मा बसोबास गर्ने सौका समुदायका मानिसहरुले पूजाआजामा पनि घरेलु मदिराको प्रयोग गर्ने गर्छन् । वडा नम्बर १ र २ मा साँस्कृतिक प्रयोजनबाहेकका क्रियाकलापमा जरिवाना गरिने बताइएको छ ।

यसअघि ब्याँस गाउँपालिकाले नीति कार्यक्रममा घरेलु मदिरालाई ब्राण्डिङ गर्ने जनाए पनि अहिले आएर मदिरामा प्रतिबन्द लगाउन लागेको छ । समाजमा घरेलु मदिराले झै–झगडा, विकृति विसंगति सृजना गरेकाले यसको नियन्त्रण गर्न खोजिएको ब्याँस गाउँपालिकाले जनाएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *