दार्चुला : दार्चुलाको गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ । सेवा प्रवाह सहज बनाउन गृह मन्त्रालय मातहतको इलाका प्रशासन कार्यालय स्थापना हुन लागेको हो ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय थप्दा दार्चुला पनि समेटिएको छ । इलाका प्रशासन कार्यालय स्थापना गर्ने सम्बन्धि प्रस्ताव मन्त्रिपरिषद्को प्रशासन समितिमा पठाएको छ ।
सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबीच देखिएको असमानतालाई समाधान गर्न इलाका प्रशासन स्थापना गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।
दार्चुलामा जिल्ला प्रशासन कार्यालयमार्फत जिल्लाका ९ वटै स्थानीय तहलाई सेवा दिइदै आएको छ । गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय थपिदा पाँच पालिकाको पायक पर्नेछ ।
त्यहाँबाट जिल्लाको शैल्यशिखर नगरपालिका, अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र लेकम गाउँपालिकाका नागरिकलाई सेवा दिन सहज हुनेछ । तर, सेवा क्षेत्र वर्गिकरणका आधारमा सेवा प्रदान गरिनेछ ।
प्रशासन कार्यालयमा नागरिकताको प्रमाणपत्र लिन तथा अन्य कामकाजका लागि धेरै समय खर्चेर पुग्नुपर्ने बाध्यताले सेवाग्राहीहरूले हैरानी व्यहोर्नुपर्ने अवस्थालाई अन्त्य गरी सेवा प्रवाह विस्तार गर्ने उद्देश्यसहित इलाका प्रशासनको कार्य अघि बढाइएको हो । २०७५ सालदेखि माग भई आएका इलाका प्रशासन कार्यालयहरु थप्ने योजना यस पटक सफल हुन लागेको हो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?