दिपक खाती,
दार्चुला : नेपाली सेनाद्वारा निर्माण भईरहेको तुषरपानी-कोठेधार- तिंकर सडक आयोजनाको नेपाली सेनाका सहायक रथी पवन खत्रीले अनुगमन, निरीक्षण गर्नुभएको छ । सुदूरपश्चिम पृतना हे.क्वा.का सहायक रथी खत्रीले आइतबार आयोजना क्याम्प रहेको सुन्सेराबाट गाडीमा ब्याँस गाउँपालिका-२ को राङ्थलसम्म पुगेर सडकको स्थलगत रूपमा अनुगमन तथा निरीक्षण गर्नुभएको दार्चुला तिङ्कर सडक आयोजनाका प्रमुख-सेनानी राजेश कटवालले जानकारी दिए ।

सडकको अनुगमन तथा निरीक्षणका क्रममा सहायक रथी खत्री र `दार्चुला-तिङ्कर´ सडक आयोजनाका प्रमुख-सेनानी कटवाललाई ब्याँस गाउँपालिका-२ माल र राङ्थल गाउँका स्थानीयले फूलमालाले स्वागत गरेका थिए ।

हाल नेपाली सेनाले ब्याँस गाउँपालिका-३ तुसरपानी (जीरो पोइन्ट) देखि तम्बाकुसम्मको क्षेत्रमा १७.२ किलोमिटर सडक निर्माण गरेको छ । ब्याँस गाउँपालिका- १ छाङरुमा गत आ.व.मा २ किलोमिटर र चालू आ.व. मा १ किलोमिटर गरि छाङरुदेखि तल ३ किलोमिटर सडक निर्माण गरिएको सेनाले जनाएको छ । यसमध्ये तुषरपानीदेखि राङथलसम्मको करिब ८ किलोमिटर लामो सडकमा गाडी पुगेको र यसवर्ष नेपाली सेनाले थप १२ सय मिटर सडक स्तरोन्नति गर्ने लक्ष्य रहेको भएपनि राथङलदेखि दुम्लिङसम्मको विभिन्न ठाउँमा सडक स्तरोन्नति गरि चाडै दुम्लिङसम्म गाडी पुगाउने धेयमा रहेको सडक आयोजना प्रमुख कटवालले बताए ।



नेपाली सेनाले सीमित स्रोतसाधनका बावजुत पनि कडा चट्टानी भू-भाग काटेर सडक निर्माण गरिरहेको कार्य सराहनीय रहेको र सेनालाई प्राप्त सडक निर्माणको जिम्मेवारीसंगसङ्गै स्थानीयहरु संग सहकार्य गरेर विभिन्न सामाजिक कार्य-पुल निर्माण, बिरामीलाई प्राथमिक उपचार एवं औषधि वितरण, बिरामीलाई बोक्न समेत सहयोग गरिरहेकाले सेनाका अधिकारीलाई गाउँलेहरुले फुलमालाले स्वागत गरेको ब्याँस-२ मालका स्थानीय राजेन्द्र धामीले बताए ।



यस्तै अर्का स्थानीय नवीन धामीले सरकारले नेपाली सेनालाई आवश्यक बजेट उपलब्ध नगराउदा सडक निर्माणको काम प्रभावित भएकोले सरकारले सेनालाई आवश्यक र यथेष्ट बजेट उपलब्ध गराउनुपर्ने बताएका छन् ।


तस्वीर सौजन्य : तुषरपानी-कोठेधार-तिङ्कर सडक आयोजना
यो खबर तपाईंलाई कस्तो लाग्यो?

