दार्चुला : लागूऔषध खैरो हेरोइनसहित दार्चुलामा तीन जना पक्राउ परेका छन् । जिल्लाको महाकाली नगरपालिका-४ बाङ्गाबगरबाट तीन जना पक्राउ परेका हुन् । आइतवार साँझ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले ४ ग्राम ९५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलोपदार्थ, ३८ ग्राम १५० मिलिग्राम चरेस र एक थान डिजिटल तराजुसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा दुहुँ गाउँपालिका–१ स्थायी घर भई हाल महाकाली नगरपालिका–४ बाङ्गाबगर बस्ने ३० वर्षीय रवि कुवँर, नौगाड गाउँपालिका–१ दल्लेख बस्ने २२ वर्षीय देवेन्द्र चुनारा र ब्यास गाउँपालिका–१ तिङ्करका ३४ वर्षीय प्रलभ तिङ्करी रहेका छन् ।
रवि कुवँरको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले घर तथा कोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

